दिपक के श्रेष्ठ
पोखराको वडा १०, १४ र १५ तिर चन्दा उठाउन सक्रिय रहेका पाँच नक्कली भिक्षुलाई प्रहरीले पक्राउ गरेको छ ।
गुम्बा निर्माणमा सहयोग गर्न भन्दै घरघरै पुगेर चन्दा माग्ने उक्त समूह ३ वर्षयता हिउँदको समय वर्षेनी पोखरामा डेरा जमाएर बस्ने गरेको थियो । सहयोग रकम लिएर रसिद समेत दिने उनीहरुले उठाएको रकम जाँडरक्सी र मोजमस्तीमा खर्च गर्दै आएका थिए ।
बौद्ध भिक्षुले लगाउने रातो वस्त्रमै उनीहरुले रौतहटको गजुरामा छोग्याल गुम्बा निर्माणको नाममा चन्दा माग्थे । उनीहरुलाई चन्दा दिएकाहरुले अझैसम्म पनि उक्त रसिद साथै राखेका छन् । विशेष गरी छानामा लोङदा (बौद्ध धर्मावलम्बीले पूजा गरेपछि घरको छतमा फहराउने कपडाको ध्वजा, पताका) टाँगेको घर उनीहरुको प्राथमिकतामा पर्ने गरेको थियो ।
समूहको जीवनशैली अस्वभाविक देखिएपछि स्थानीयले प्रहरीलाई सूचित गरेको थियो । जिल्ला प्रहरी कार्यालयको टोलीले स्थानीयबाट सोही सूचनाको आधारमा उनीहरुको रेकी गर्दै आएको थियो । रेकीकाक्रममा उनीहरुको जीवनशैली फरक पाएपछि प्रहरीले रौतहटको छोग्याल गुम्बामा सम्पर्क गर्दा कसैलाई पनि सहयोग उठाउन नपठाएको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको जिप्रका कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
समूहले पृथ्वीचोकमा डेरा जमाई दिनभर सहयोग उठाउन हिड्ने गरेको थियो । उनीहरुको स्थायी ठेगाना मकवानपुर रहेको छ । ‘हामीले छोग्याल गुम्बाबाट लिखितरुपमै उनीहरुसँग कुनै सम्बन्ध नरहेको जानकारी पाएपछि एक्सनमा गएका हौं’ प्रवक्ता हमालले भने । प्रहरीका अनुसार उनीहरू यसपटक फागुनकाे मध्यतिर पाेखरा आएका थिए ।
पक्राउ पर्नेमा धनबहादुर लामा, छिरिङ भनिने निमा तामाङ, पदमबहादुर लामा, जिजय लामा र जितबहादुर थिङ छन् । प्रहरीले उनीहरुको साथबाट चन्दा उठाउन प्रयोग हुने छोग्याल गुम्बाको पत्र, १२ थान रसिद र ४२ हजार रुपैयाँ नगद बरामद गरेकाे छ ।
प्रहरीले कास्की जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिनको समय लिई थप अनुसन्धान सुरु गरेको छ । साथै, उनीहरुबाट ठगिएकाहरुलाई सम्पर्कमा आउन पनि प्रहरीले अपील गरेको छ ।