वर्षेनी असिना पानीले किसानलाई घाटा, यसरी गर्न सकिन्छ कृषि बीमा

 

दिपक के श्रेष्ठ

बुधबार दिउँसो ३ बजेतिर पोखरामा एक्कासी असिना पानी दर्किएपछि धेरै किसानको खेतबारीमा फलेको तरकारीमा क्षति पुग्यो । राम्रो मूल्य पाउने आशमा केही दिन बारीमा राख्ने योजना बनाएका किसानहरुको सपना असिना पानीले नराम्ररी चुट्यो ।

असिनाका कारण फल्दै गरेका र फलेका तरकारी सागसब्जीमात्र हैन फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवामा पनि नराम्ररी क्षति भयो । वर्षेनी घाटा व्यहोर्दै आएपनि किसानहरुले कृषि बीमा गर्नेतर्फ अझै सोचेका छैनन् । त्यसो त व्यावसायिक खेतीमै लागेका किसानहरु समेत बीमामा चासो देखाउँदैनन् ।

के हो कृषि र पशुपन्छी  बीमा ?
कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ ।

बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैँले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैँले व्यहोर्नुपर्ने हुन्छ । तर रोगव्याधी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै कभर गर्छ ।

त्यस्तै, बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा, निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा भुक्तानी पाइँदैन । बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा पनि बीमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन ।

बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा अथवा बीमकको सहमतिबीना पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा र पन्छीमा बर्डफ्लू भएमा बिमित भुक्तानी नपाउने व्यवस्था छ ।

भुक्तानी लिने तरिका
पशुपंक्षी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समुह/सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनू पर्छ । १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्ज्मिन मूचूल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिना भित्र क्षतिपुर्ती उपलब्ध गराइन्छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनुपर्छ । अन्यथा क्षतिपुर्ती पाइने छैन ।

पोखरामा कृषि बीमा
पोखरामा महानगरपालिका अन्तरगत कृषि तथा पशु विकास महाशाखा रहेको छ । जहाँ कृषि तथा पशुपन्छी बीमा गर्न सकिन्छ । महानगरपालिकाले कृषक परिचयपत्र वितरण गरेपछि बीमा सेवालाई झनै प्रभावकारी बनाएको छ ।

हाल प्रदेश सरकारले बीमा निशूल्क गरेपनि यसको लाभ कृषकहरुले लिन नसकेको महानगरअन्तरगत पशु सेवा शाखाका प्रमु्ख नवराज अधिकारीले बताए । हालसम्म महानगरले दिएको बीमा सेवाबाट करिब ८० प्रतिशत पशु बीमा र बाँकी कृषि बीमा रहेको प्रमुख अधिकारीले बताए । ‘पशुमा बढी बीमा भएको छ तर किसानहरुले चासो नदिएका हुन् वा सूचना पु¥याउन नसकिएको हो, हामी अध्ययन गर्दैछौं’ अधिकारीले भने ।

यसअघि महानगरले ५० प्रतिशत बीमा शूल्क व्यहोर्दै आएपनि हाल प्रदेश सरकाले निशूल्क गरिदिएको उनले जानकारी दिए । साथै, कृषकहरुले आवश्यक कागजातसहित महानगरको बीमा शाखामा आए तुरुन्तै सेवा दिइने उनको भनाई छ ।

कमेन्टहरु
Loading...