युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उनले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताए ।
“मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ”, उनले भने, “काम गर्नका लागि प्रायःजसो बजेटको अभाव र समस्या भएको भन्ने गुनासोलाई समाधान गर्नका लागि अर्थमन्त्रालय र खेलकूद मन्त्रालयबीचको समन्वयमा आवश्यक व्यवस्थापन गर्न पहल गर्नेछु ।”
त्यसका लागि काम गर्ने वातावारण बनाउनका लागि सबै तयार हुन आवश्यक रहेकामा उनले जोड दिए।
कामको सिलसिलामा राष्ट्रसेवक कर्मचारीको सेवासुविधाका लागि थप छलफल गरिरहेको र युवा स्वरोजगारको सन्दर्भमा जिल्ला–जिल्लामा सहजकर्ता मनोनयन गरी बजेटको वयवस्थापन गरी अगाडि बढ्न लागिरहेकाले त्यसमा आवश्यक सुझाव र सल्लाह दिन कर्मचारीलाई आग्रह गरे ।
माग्न आउने सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न र सूचना सार्वजनिक गर्न तोकिएको सूचना अधिकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
जनताको सुसूचित हुन पाउने अधिकार भएकाले सहजरूपमा सूचना दिनुपर्ने र त्यसरी माग गर्दा पाएन भने उजुरीका लागि व्यवस्था रहेकाले सूचना माग गर्दा सबै प्रक्रिया पूरा गरेर उपलब्ध गराउन उनले सम्बन्धित पक्षलाई आग्रह गरे ।
कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपानेले नागरिकले सरकारका गतिविधि सबै थाहा पाउनुपर्ने भएकाले सूचना अधिकारीलाई सूचना नलुकाउन आग्रह गरे ।
पुरानो संस्कारअनुसार बोल्नुहुँदैन, विचार गरेर बोल्नुपर्छ र गोप्य रहनुपर्छ भन्ने सोचलाई सुधार गरेर काम गर्न आवश्यक रहेको उनले बताए ।
पारदर्शिता भयो भने देश र समाजलाई फाइदा गर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता मधुसुदन बुर्लाकोटीले मन्त्रालयसँग काम गर्ने निकायहरु युवा परिषद्, युवा स्वरोजगार कोष, खेलकूद परिषद् र नेपाल स्काउटमा सूचनाको हकमा के–कस्तो काम भइरहेको छ, कस्तो समस्या छ र आउने दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल आयोजना गरिएको बताए ।
समस्याका बारेमा छलफल गर्ने र आगामी दिनमा सूचनाको हकसम्बन्धी कामलाई अझ प्रभावकारी बनाउन सो कार्यक्रम आयोजना गरेको उनले बताए ।