तनहुँ संवादाता ।
शुक्लागण्डकी नगरपालिका–१० खोरादीका किसान बाख्रा पालनतर्फ आकर्षित भएपछि त्यस क्षेत्रका ३० घरधुरीले व्यवासयिक तरीकाले बाख्रा पालन गर्दै आएका छन् ।
उनीहरुलाई दुई बर्षदेखी शुक्लागण्डकी नगरपालिकाको पशु सेवा शाखाले सघाउदै आएको छ । यहाँका किसानलाई बाख्रा पालन सम्बन्धी ज्ञान अभिबृद्धी गर्न नगरपालिकाले दुई दिने तालिम संचालन गरेको छ । आईतबार र सोमबार दुई दिन ढोरफिर्दीमा तालिम प्रदान गरिएको पशु सेवा शाखाका कर्मचारी ईश्वर रेग्मीले जानकारी दिए ।
उनका अनुसार तालिममा त्यस क्षेत्रका २४ जना किसानले सहभागिता जनाएका थिए । खोरादी बाख्रापालन कृषक समुहका अध्यक्ष रामचन्द्र आलेले तालिमले कृषकलाई बाख्रा पालन कसरी गर्ने भन्ने विषयमा ज्ञान दिने बताए ।
किसानलाई बाख्राको जात छनौट, गोठ/खोर, प्रजनन् र आहार व्यवस्थापनसंगै बाख्रामा लाग्ने महामारी र सर्तक रहने उपाय, घाँसमा आधारित पशुपालनको अभ्यासका बारेमा सहजीकरण गरिएको रेग्मीले बताए । सहभागी किसनालाई नगरपालिकाका पशु प्राविधिकसंगै पशु चिकित्सक हुमराज तिमिल्सििनाले सहजीकरण गरेका थिए । तालिमले कृषकलाई बाख्रापालन गर्न सहयोग पुग्ने वडा सदस्य राजेन्द्र भटराई क्षेत्रीले बताए ।
‘कृषकलाईँ जानकारी दिनको लागि यस्ता खालको तालिमहरु समयसमयमा गर्न सके कृषितर्फ युवापिँढीको आर्कषण बढ्नेछ,’ उनले भने ।