हट्यो क्यान्सरको उपचारका लागि विदेश जानुपर्ने बाध्यता

काठमाडौं । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा ६ सय करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो ।

निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौं ।’
३ सय शैयाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उनले जानकारी दिएका छन् । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले १ वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताएका छन् । कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ ।

‘यो क्यान्सर उपचारका लागि सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो ।’ अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भने । ‘मुस्कुराउँछ नयाँ जीवन…’ भन्ने नाराका साथ गत वर्षदेखि सो अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो । यसबाट पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइएको छ । ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् ।

पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अंकलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौं बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुंगाका रुपमा काम गर्छ ।

अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिब १ अर्बभन्दा माथि खर्च भएका जनाइएको छ । ‘क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३ सय शैयाको अस्पताल सञ्चालमा आउने छ । झापालाई मेडिकल हब बनाउने मेरो सपना छ ।’ उनले भने । भारतमा उनले केही वर्ष अगाडि घाँटीको क्यान्सरको उपचार गराएका थिए ।

‘मेरो पीडाजस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे नत्र । यसपछि सबै कुरा त्यागेर देशलाई क्यान्सर मुक्त बनाउने अभियानको आधार तयार गर्न दृढताले लाग ।’ उनले आफ्ना भोगाइ सुनाए । पछिल्लो समय मेदान्त तथा राजीवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो संख्यामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती २ अस्पतालमा मात्र बर्सेनी कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्यांक छैन । जनस्वास्थ्य स्वास्थ्य कार्यालय झापाबाट गत वर्षमात्र ४ सय क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

नेपालमा बर्सेनी विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् ।

सत्तरी प्रतिशतको अकालमा मृत्यु हुने गर्छ । विकसित देशमा यो अवस्था ठीक उल्टो रहेको छ ।

मुटु प्रत्यारोपणको तयारी

कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा मुटु तथा मिर्गाैला प्रत्यारोपणका लागि तयारी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार मुटु उपचार सेवाका लागि ‘क्याथ ल्याब’ सञ्चालनमा आइसकेको छ । पूर्वाञ्चलमा पहिलोपटक ५० करोडको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ । अस्पतालले मिर्गाैला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ ।

बीएण्डसी अस्पतालका निर्देशक प्रा.डा.उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक सबै प्रकारका सेवा उपलब्ध रहेको जानकारी दिएका छन् । उनले भने, ‘क्यान्सर उपचारका लागि विदेश जानुपर्दैन ।’ रासस

कमेन्टहरु
Loading...