एजेन्सी । संयुक्त राज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ । टेक्सासमा मंगलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड सहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मंगलबार बिहान १ महिला र ३ बालबालिकाको ज्यान गएको छ ।
उत्तरी क्यारोलिनामा कम्तीमा ३ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दक्षिणी टेनेस्सी राज्यमा १ जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्र पनि बन्द गर्नु परेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ । अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि सुरु हुन लागेको पनि जलवायु अधिकारीहरुले बताएका छन् । रासस