वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरी तथा भारतीय बालुवा तस्करबीच झडप हुँदा २ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
नेपाली भूमिमा प्रवेश गरेर अवैध तरिकाले बालुवा उत्खनन् गरिरहेका भारतीयसंग झडप हुँदा २५ वर्षीय नरेश यादव तथा २४ वर्षीय आयुष यादव घाइते भएका हुन् । सशस्त्र प्रहरीका अनुसार भारतीय तस्करहरुले ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजान गर्दाको अवस्थामा भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने प्रयास भएको थियो । सोही क्रममा उनीहरुबीच झडप भएको हो । हाल स्थिति सामान्य रहेको छ ।
घाइते दुवै जनाको हाल नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये आयुषको देब्रे कानमा चोट लागेको र उनको कानमा १८ वटा टाँका लगाइएको अस्पतालमा आकस्मिक विभाग प्रमुख डा.उदयनारायण सिंहले जानकारी दिएका छन् ।
डा.सिंहका अनुसार नरेशको खुट्टनमा चोट लागेको छ भने देब्रे हातको हड्डी भाँचिएको छ । अस्पताल स्रोतका अनुसार घाइते आयुष र नरेश हाल खतरामुक्त रहेका छन् ।
३ वटा भारतीय ट्याक्टरलाई बालुवा तस्कर गरेर लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउन पोस्ट पडिारीगुठी तथा महादेवपट्टीको संयुक्त टोलीले ट्याक्टरलाई नियन्त्रण गर्ने क्रममा झडप भएको थियो ।
बालुवा सहितको ट्याक्टर खोलामा फेसेपछि भारतीयहरुले खोलामा आएर ट्याक्टर छुटाउने कोसिस गरेका थिए । भारतीय गाउँ गदियानी भंगहाका बासिन्दाले ट्याक्टर छुटाउने भन्दै बेल्चा, लाठी, चाटा तथा ढुंगाले प्रहार गर्न खोजेपछि स्थिति तनावग्रस्त भएको थियो । यता नियन्त्रणमा लिइएको ट्याक्टर समेत उनीहरुले खोसेर लगेका छन् ।
नेपाली भूमिमा प्रवेश गरेर ओरिया खोलामा वर्षौंदेखि नदीजन्य पदार्थ भारतीयले उत्खनन् गरेर लैजाने गरेको भए पनि नेपालतर्फका सुरक्षा निकायले रोक्न सकेको छैन । उत्खनन् कार्यलाई राक्न खोज्दा भारतीयहरुले नेपाली सुरक्षकर्मीसंग झडप तथा कुटपिट गर्ने, हातहतियार खोस्ने लगायतका कार्यहरु गर्दै आएका छन् ।