सुकी सहितका नेतालाई रिहा गर्न एनएलडीको आग्रह

एजेन्सी । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो । स्टेट काउन्सिलर समेत रहेकी सुकी र देशका राष्ट्रपति विन मिन्ट दुवैलाई सोमबार बिहानै नजरबन्दमा राखिएको थियो । एनएलडीका केन्द्रीय कार्यकारी समितिका सदस्यहरु, सांसदहरु र क्षेत्रीय मन्त्रिपरिषदका सदस्यहरुलाई पनि गिरफ्तार गरिएको छ ।

म्यान्मारको सैनिकले म्यान्मारको सम्पूर्ण सत्ता १ वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई गिरफ्तार गरेको हो । सेनाले एक बर्षसम्मका लागि संकटकाल घोषणा गर्दै १ वर्षमा निर्वाचन गराउने दावी पनि गरेको छ । गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्ने सेनाको दाबीलाई अस्वीकार गरिएको तथा कोरोना भाइरसका कारण देशभित्र संकटपूर्ण अवस्था रहेकाले आम निर्वाचन स्थगित गर्न सरकार अक्षम भएपछि सैनिक नियन्त्रण आवश्यक रहेको सेनाको भनाई छ ।

सेनाको असन्तुष्टिबीच भएको निर्वाचनबाट गठन भएको नयाँ संसदको बैठक सुरु हुने दिन बिहान सेनाले सत्ता विद्रोह गरेको हो । सेनाले राजनीतिक नेताहरुलाई सैनिक नियन्त्रणमा राख्ने र संचारसम्पर्क विच्छेद गराउने गरेकाले सर्वत्र विरोध भएको छ ।

अमेरिका, अस्ट्रेलिया र अन्य मुलुकले विज्ञप्ति प्रकाशन गरी म्यान्मारको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै म्यान्मारको सेनालाई कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन् ।

हाल म्यान्मारमा सर्वाधिक प्रभावशाली नेताको रुपमा ७५ वर्षीया आङ सान सुकी नै रहनु भएको छ । सैनिक शासनविरुद्ध दशकौं संघर्ष गरेपश्चात ५ वर्षअघि शान्तिपूर्ण रुपमा सम्पन्न चुनावबाट उनले मुलुकको नेतृत्व सम्हालेका छन् । गत नोभेम्बरको चुनावबाट संसदको तल्लो र माथिल्लो दुवै सदनका कूल ४ सय ७६ स्थानमध्ये सुकीको दल एनएलडीले ३ सय ९६ स्थान जितेको छ । सन् २००८ को संविधान बमोजिम सेनालाई संसदको कूल स्थानको २५ प्रतिशत छुट्याइएको छ । साथै कतिपय महत्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको थियो ।

तर गत चुनावमा व्यापक धाँधली भएको सेनाको भनाई छ । तर त्यसका ठोस प्रमाणहरु भेटिएका थिएनन् । देशको निर्वाचन आयोगले पनि गत साता सेनाको उक्त दोषारोपणलाई अस्वीकार गरेको थियो । यही असन्तुष्टिको आडमा सेनाले शासन लिएकाले म्यान्मारको राजनीतिक केही समय संकटपूर्ण नै रहने देखिएको छ । रासस

कमेन्टहरु
Loading...