लमजुङ संवादाता ।
लमजुङमा निजीआवास लाभग्राही सूचीबाट ९ सय ४० भूकम्पपीडितलाई हटाइने भएको छ ।
लाभग्राही सूचीबाट हट्नेमध्ये पूर्णक्षतितर्फ ६ सय १२ जना र आशिंक क्षति तर्फका ३ सय २२ जना भूकम्पपीडित रहेका छन् ।
उनीहरुले तोकिएको मितिसिम्म सम्झौता नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार लमजुुङका प्रमुख सूर्यप्रसाद शर्माले बताए ।
त्यस्तै,६ जना लाभग्राहीले भने अनुदान सम्झौता गरेर पनि पहिलो किस्ताको रकम नलिएको शर्माको भनाई छ ।
राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा परेर पनि मंसिर मसान्तसम्म अनुदान सम्झौता नगरेका र अनुदान सम्झौता गरेर पनि पुस १५ सम्म पहिलो किस्ता नलिएका पीडितको नाम लाभग्राही सूूचीबाट हट्ने निर्णय गरेसँगै ९ सय ४० भूकम्पपीडितलाई सूचीबाट हटाइने भएको हो ।
जिल्लामा पूर्णक्षति र मर्मत सम्भार गरी कुल १५ हजार ५ सय ४३ भूकम्पपीडित लाभग्राहीको सूचीमा परेका थिए ।
तीमध्ये हालसम्म १४ हजार ६ सय ३ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका छन् ।
निजीआवास पुनर्निर्माणका लागि ०७७ मंसिर मसान्तभित्र अनुदान सम्झौता गरी पुस १५ सम्म पहिलो किस्ता लिइसक्नुपर्ने समय तोकेको थियो ।
त्यस्तै, दोस्रो किस्ताका लागि लाभग्राहीले स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिने अन्तिम समय ०७७ माघ मसान्तसम्म कायम भएको छ ।
अन्तिम किस्ताका लागि निवेदन दिने मिति २०७८ वैशाख मसान्तसम्म र रकम भुक्तानीका लागि २०७८ जेठ मसान्तसम्म समय तोकिएको छ ।