लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेंसीसहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिए । उनको सपना केवल सपना मात्रै भयो । विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमार्ई । साढे २ वर्षपछि उनी नेपाल फर्किए । न विदेशको कमार्ई, न स्वदेशमा कुनै रोजगारीको उपाय । दुविधा बढ्दै गएपछि उनले झलक्क सम्झिए, छिनखोलाकै पाखो पखेरो । उतिबेला गाउँगाउँमा अलैंची खेतीको लहर चलेको थियो । त्यही लहरमा लहरिँदै पसे छिनखोलाको सेपिलो पाखातिर । उनले सुरु गरे अलैंची खेती । उतिबेला काम खोज्दै विदेश भौंतारिएका उनी अहिलेका उम्दा अलैंची कृषक ।
सुरुमा १ रोपनी जग्गामा अलैंची खेती विस्तार गरे । खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा अलैंची लगाएका छन् । अलैंची दाना बेचेर अघिल्लो वर्ष ५ लाख बढी कमाएको उनले जानकारी दिएका छन् । यस वर्ष पनि सोही हाराहारीमा अलैंची दाना बिक्री गर्दै आम्दानी गरे । यस वर्ष उनले ४ सय किलो अलैंची उत्पादन गरेका थिए । अलैंची खरिद बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष २ सय बिरुवा उत्पादन गर्ने लक्ष्य अलैंची कृषक तामाङको छ । उनले आफ्नै बारीमा अलैंची नर्सरी स्थापना गरेर उत्पादनका साथै अलैंची बिरुवा बिक्री गर्दै आएका छन् ।
अलैंचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक १२/१३ लाख सजिलै आम्दानी हुने गरेको उनको भनाई छ । उनलाई यसरी वार्षिक यतिका रकम आम्दानी हुँदा सुरु सुरुमा त सपनाजस्तै हुने गरेको थियो । उनले कहिल्यै यस पेसाबाट आम्दानी गरेका थिएनन् । अलैंची व्यवसाय सम्हाल्नुभन्दा अघि परिवारको सुनौलो भविष्यको सपना देख्दै आफू विदेश गएको उनले अनुभव सुनाए । ‘त्यहाँ दुःख गरेपनि वार्षिक ३ लाखभन्दा बढी कमाई हुन सकेन । अहिले परिवारको साथमा घरमा बसीबसी वार्षिक १२÷१३ लाख र कुनै वर्ष १५ लाखसम्म कमाई हुने गरेको छ ।’ उनले भने, ‘यतिका आम्दानी हुन्छ भनेर कहिल्यै सोचिको नै थिइन, अलैंची खेतीले मेरो भाग्य परिवर्तन गरिदिएको छ ।’
उनी नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्ष तथा लमजुङ शाखाको अध्यक्ष समेत हुन् । रोजगारी नभएर गाउँ छाड्ने गरेका र विदेशमा रहेका युवालाई गाउँगाउँमा आएर अलैंची खेती गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न उनको आग्रह छ । कति युवालाई त उनले विदेश जानबाट रोक्दै अलैंची व्यवसायमा आबद्ध गराएर सफल कृषकसमेत बनाइसकेका छन् । उनले जिल्लाका युवा तथा कृषकलाई अलैंची खेतीमा आबद्ध गराउँदै सफल कृषक बनाउनमा ठूलो योगदान दिएका छन् ।
अजयजस्तै मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि अलैंची खेती गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनले पनि अलैंची व्यवसायय सुरु गर्नुअघि १० वर्ष मलेसियामा काम गरेका थिए । विदेशको रोजगारीले खासै प्रगति । सुनौलो भविष्य देखेर गएका उहाँको जीवन सोचेजस्तो हुन सकेन । ‘कडा परिश्रम गरेकै थिएँ, तर आम्दानी सोचेजस्तो नहुँदा परिवारको खर्च पनि चलाउन मुस्किल भयो ।’ उनले भने, ‘घडेरी, सम्पत्ति जोड्ने कुरात परको हुन पुग्या, घरखर्च चलाउन पनि मुस्किल भयो ।’ विदेशबाट फर्किएपछि गाउँमा छाडेर गएको बाँझो जग्गामा अलैंची खेती विस्तार गर्न थाले । विदेशबाट आउने बित्तिकै २३ वर्षअघि सुरुमा एक रोपनी जग्गाबाट अलैंची खेती विस्तार गरेका उनले अहिले ४० रोपनी क्षेक्रफलमा अलैंची खेती गरेका छन् ।
विदेशमा कमाई गर्न नसके पनि नेपालमा नै अलैंची खेतीबाट धेरै राम्रो आम्दानी भइरहेको उनले बताए । वार्षिक ७ लाखसम्म अलैंची दानाबाट आम्दानी गर्ने गरेको उनको भनाई छ । उनले स्थापना गरेको खाचे अलैंची नर्सरी तथा जडीबुटी नर्सरी फार्ममा उत्पादित नर्सरी अलैंचीको बिरुवा बिक्रीबाट वार्षिक ४ लाखसम्म आम्दानी हुने गरेको छ । विदेशमा गर्न नसकेको आम्दानी परिवारको साथमा बसेरै राम्रो आम्दानी भएपछि अहिले उनलाई अलैंची व्यवसाय ढिलो सुरु गरेको र विदेश गएकोमा पछुतो छ ।
तामाङद्वय जस्तै अर्का अलैंची कृषक मस्र्याङ्दी ७ छिनखोलाका बलराम लामाले अलैंचीबाट वार्षिक ९/१० लाख आम्दानी गर्दै आएका छन् । अलैंची खेति सुरु गर्नुअघि आफ्ना गाउँठाउँको जग्गा जमीन घरपरिवार र आफन्त छोडेर उनी विदेश पुगे । रोजगारीको सिलसिलामा पाँच वर्षसम्म खाडीमुलुकमा भविष्य नदेखेपछि आफ्नै गाउँमा अलैंची खेती गर्न थालेका लामाले २० रोपनी जग्गामा अलैंची खेती गर्दै आएका छन् । यस वर्ष अलैंची बिक्रीबाट करीब ५ लाख आम्दानी गर्न सफल भएको उनले जानकारी दिएका छन् । विदेशमा २ लाख आम्दानी गर्न कठिन भएको बताउँदै उनले अहिले अलैंचीले त्यहाँको भन्दा दोब्बर बढी आम्दानी भएको र परिवारको गुजारा राम्रैसँग चलेको अनुभव सुनाए । ‘विदेशमा भन्दा स्वदेशमै गर्नसके भविष्य उज्वल हुँदो रहेछ ।’ उनले भने ।
अलैंची खेती यस जिल्लामा ३६ वर्षअघिबाट सुरुआत भएको अलैंची महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तामाङको भनाई छ । अलैंची खेतीतर्फ युवा आकर्षित भएको र यसले कृषकको जीवन नै परिवर्तन भएको उनले बताएका छन् । पछिल्ला वर्षमा सहर पसेका पनि गाउँगाउँ आएर अलैंची खेती गर्न थालेको जनाउँदै उनले परम्परागत खेतीभन्दा अलैंची खेतीबाट धेरै आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको बताए । जिल्लामा उत्पादित अलैंची दानाको माग उच्च रहँदै आएको छ । यस वर्ष कृषकले ३ हजार ५ सय क्विन्टल अलैंची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् ।
जिल्लामा एक ५०० हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको छ । अलैंचीको विभिन्न प्रकारका हुने भए पनि जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैंची बिरुवा लगाउँदै आइएको छ । रासस