लमजुङ । लमजुङमा प्रहरीले ४ सय ९६ दशमलव ६४ क्युफिट अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार सााझ प्रहरी हबल्दार खिलबहादुर उपरकोटीको नेतृत्वको टोलीले दोर्दी गाउँपालिका ८ खिन्चोकबेंसीबाट चाँपको ७४ दशमलब ८२ क्युफिट काठसहित चालक दोर्दी गाउँपालिका ६ का २८ वर्षीय कन्याबहादुर तामाङ र सोही गाउँपालिका ८ का ३६ वर्षीय मेघराज घलेलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बुधबार दोर्दी गाउँपालिका ८ पाँचस्वाराको तयारी अवस्थाको चाँपको ३९६ दशमलब ९१ क्युफिट अवैध चिरान काठ बरामद गरेको हो ।
बिहीबार मध्यनेपाल नगरपालिका ९ पिस्तीखोला बगरबाट इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर बोधराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरीले बेवारिसे अवस्थाको २३ र ९१ क्युफिट सालको चिरान काठ बरामद गरेको छ । बरामद काठ र घटनामा संलग्न व्यक्ति साथै सवारीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ ।
डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीले प्रहरीले बरामद काठ र पक्राउ गरेका व्यक्तिउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३ दिनको अवधिमा करिब १५ लाख ३४ हजार ७ सय ४० रुपैयाँ मूल्य बराबरको अवैध काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।