एजेन्सी । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा समेत गरेका छन् ।
ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति सहानुभूति समेत व्यक्त गरेका छन् । मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् । उनले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीट मार्फत् जानकारी दिएका छन् ।
सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउनेमध्ये १५ जना मध्ये ७ जना महिला, ७ जना पुरुष र १ जना १ वर्षीय शिशु रहेको अधिकारीहरुले जनाएका छन् ।
घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाई छ । रासस