काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो ।
लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिएका छन् । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोल रक्षक रहेका थिए ।
सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए । शाहीले ४ पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एसियाली खेलकूद खेल्दा पनि उहाँ गोल रक्षक रहेका थिए ।
शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनी २०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा महासचिवमा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी नेपाल बक्सिङ संघको समेत महासचिव रहेका थिए ।
विसं २०७० मा नेपाल आइस हकी संघ स्थापना हुँदा शाही संघका संस्थापक अध्यक्षमा चयन भएका थिए । रासस