दिपक के श्रेष्ठ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन अलोकतान्त्रिक र अवैधानिक नभएको प्रतिक्रिया दिएका छन् ।
प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले सरकारलाई अप्ठ्यारोमा पारेपछि यस्तो कदम चालिनु स्वभाविक भएको उनको भनाई छ । ‘जसरी कांग्रेसको आन्तरिक कलहले मध्यावधि निर्वाचन भयो त्यस्तै श्रृंखला नेकपामा दोहोरिएको हो’ गुरुङले भने । जनजागरणको नाममा गिरिजाप्रसाद कोइरालाको पुत्ला जलाएपछि उनले संसद भंग गरेर मध्यावधि निर्वाचन गरेको प्रसंग सुनाउँदै अहिले पनि प्रधानमन्त्रीलाई बाधा व्यवधान खडा गरेपछि अब हुने चुनाव लोकतान्त्रिक परिपाटी अनुसार हुने उनको भनाई छ ।
‘कोइरालाले मलाई काम गर्न दिएनन् भन्दै चालेको कदम वैधानिक भयो, अहिले कसरी अवैधानिक भयो ?’ उनले प्रतिप्रश्न गरे । यस विषयमा सर्वाेच्च अदालतले छिनोफानो गर्न बाँकी नै भएपनि गुरुङले चुनावमा जान पाउने अधिकारको प्रयोग भएको हुँदा यसलाई अलोकतान्त्रिक र अवैधानिक भन्न नमिल्ने टिप्पणीसमेत गरे ।
जनताकोबीचमा गएर मत, अभिमत लिनु लोकतान्त्रिक संस्कार भएको उनले बाराम्बार दोहो¥याए । अधिवेशनमा सम्बोधन गर्नेक्रममा उनले अधिकांश समय प्रधानमन्त्री ओलीको कदम वैधानिक भएको पुष्ट्याई गर्नमै खर्चिए । उनले भने ‘व्यवस्था जोगाउन प्रधानमन्त्रीले संसद विघटन गरेका हुन् ।’
प्रतिपक्ष सांसदतर्फ लक्षित गर्दै उनले ठूलो पार्टी फुटेको छ तपाइहरु खुशी हुनुहोस् र चुनाव तयारीमा लाग्नुहोस् भन्दै उनले विपक्षीका लागि ‘गुड न्यूज’ भएको उल्लेख गरे ।
यस्तै, प्रदेश सरकारले लकडाउनबीच पनि विकास निर्माणमा निरन्तर लागिरहेको बताए । प्रदेशले गरेको कामलाई विरोधको विषय बनाइएको भन्दै सरकारले कार्यकर्तालाई भर्ति गरेको भन्दे आलोचना गर्नु गलत भएको उनले उल्लेख गरे ‘हामीले प्रतिष्पर्धामा विश्वास गर्छाै, कसैलाई तोक लगाएर जागिर दिने परिपार्टी गणतन्त्रमा हुँदैन’ उनले प्रष्ट्याए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशनको माग गरेपछि आजदेखि सुरु भएको हो । अधिवेशनकाे अर्काे बैठक २६ गते दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।