पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क

चितवन । सरकारले कोरोना परीक्षणमा २ हजार मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप १ हजार लिएको पाइएको हो ।

कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गरेका छन् । उनका अनुसार यहाँ संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौंको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क २ हजार ४ सय लिने हुँदा आफूहरुले यातायात शुल्कसहित ३ हजार लिएको स्वीकार गरेका छन् ।

हाल भने अस्पतालले ४ सय थप गरेर परीक्षण गराउँदै आएको उनको दाबी छ । यद्यपि जिल्लाकै २ सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौं स्वाब पठाउने गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा ५ सय बढी लिएको भन्दै मुद्दा चलाएको छ । कलेजका प्रतिनिधिले १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले ८ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...