बाढीपीडितलाई खाद्यान्न सहयोग

कालिकोट । कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढीपहिरो पीडितलाई राहत वितरण गरेको हो ।

बाढीपहिरोमा परी धनमालसहित घरबारविहीन भएको शुभकालिका–८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिइएको हो । उनीहरुलाई खाने बस्नेको समस्या भएका कारण खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए । ‘तत्कालका लागि ६०० बोरा चामल वितरण गरेका छौँ’, उनले भने, ’उनीहरुको अहिले पनि खानबस्नको समस्या छ ।’

गाउँपालिकामा ठूलो सङ्ख्यामा बाढीपहिरोमा परी घरबारविहीन भएको अवस्था रहेको र त्यसको तथ्याङ्क सङ्कलन गरेर घरबारविहीनका लागि आवासको व्यवस्था गरिने अध्यक्ष चौलागाईँले बताए । ‘अहिले तथ्याङ्क सङ्कलन गरेर वास्तविक पीडितलाई आवासको व्यवस्था गर्ने तयारी थालेका छौँ’, उनले भने, ‘क्षतिको विवरण यकिन भएपछि आवास निर्माणका लागि तीनै तहका सरकार मिलेर काम गर्ने योजना रहेको छ ।’

कमेन्टहरु
Loading...