उमाचोक सुन्तलाखेती जिल्लाकै नमूना

तनहुँ । म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना बगैंचाको रुपमा स्थापित भएको छ । अन्य क्षेत्रका सुन्तला उत्पादनमा भारी ह्रास आए पनि उक्त क्षेत्रमा नगण्य मात्रमा उत्पादनमा कमि आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई चालू आर्थिक वर्षमा २२ लाख ७२ हजार ४ सय ९३ सहयोग गरिएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए । सुन्तला खेती विस्तार, रोग निवारण, साना सिँचाइ कार्यक्रम, सुन्तला बिरुवा रोपण, बगैंचा सुदृढीकरणलगायत उक्त रकमको व्यवस्था गरिएको हो । उनले भने, ‘कृषकको लागत सहभागितासमेत गरी ४० लाख रहेको छ ।’

आर्थिक वर्ष २०७६/७७ मा पनि समितिलाई लागत सहभागिताको लागि १३ लाख ७६ हजार ७ सय ७१ सहयोग रकम प्रदान गरिएको थियो । यहाँका कृषक सुन्तला बेचेर राम्रै आम्दानी गर्दै आएका छन् । व्यावसायिक कृषकले वार्षिक ५ लाखदेखि ६५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । उमाचोक गाउँका कृषक सुन्तला बेचेर मनग्गे आम्दानी लिन थालेसँगै सोही पालिकाको छिमेकी वडा १ र ३ का कृषक पनि उमाचोक सुन्तला ब्लक सञ्चालक समितिमा आबद्ध भई व्यावसायिक सुन्तलाखेती तर्फ लागेका छन् ।

यस वर्ष उमाचोक गाउँबाट मात्रै २ करोड २ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । उक्त उत्पादन गत वर्षको तुलनामा २२ कमी हो । गत वर्ष उक्त गाउँबाट २ करोड २२ लाखको सुन्तला बिक्री भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिका संयोजक निर्मल अधिकारीले जानकारी दिएका छन् । गाउँमा सबैभन्दा धेरै सुकनारायण श्रेष्ठले ६० लाखको सुन्तला बिक्री गरेका छन् । उनले गत वर्ष ६५ लाखको सुन्तला बिक्री गरेका थिए । अर्का कृषक रामबहादुर थापाले यो वर्ष १६ लाखको सुन्तला बिक्री गरेको बताए । अहिले वर्ष पानी धेरै परेकोले सुन्तलाका दाना साना लागेको र ढिलो गरी पाकेकोले केही उत्पादन घटेको उनको भनाई छ ।

यहाँ उत्पादन भएका सुन्तला दमौली, पोखरा, चितवन, काठमाडौंलगायत ठाउँमा निर्यात हुँदै गरिँदै आएको कृषक बताउँछन् । उमाचोक पालिकाकै नमूना सुन्तला खेतीका रुपमा परिचित भएकोले सुन्तला ढुवानीलाई सहज बनाउन सडक मार्गको स्तरोन्नति कार्य भइरहेको म्याग्दे गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले बताएका छन् ।

उमाचोक ब्लक क्षेत्रमा १ सय ५० हेक्टर जमिनमा सुन्तला खेती गरिएको छ भने २ सय ३५ घरधुरी आवद्ध भएका छन् । उक्त क्षेत्रमा कूल २७ हजार ९ सय १३ वटा सुन्तलाका बिरुवा लगाइएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सुन्तला खेती प्रवद्धनको लागि नयाँ सम्भावित भएका क्षेत्रमा गत वर्ष मात्रै उमाचोक र घिरिङ गाउँपालिकाको उवाचोकमा १० हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । जिल्लाको शुक्लागण्डकी ११ राइपुर, व्यासनगरपालिका ११ र १३ को तनहुँसुर र बेनीकोट, देवघाट गाउँपालिका २, ३ र ४ छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका–९ को भानुमतिलगायत क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र छन् ।

उक्त क्षेत्रका अधिकांश सुन्तलाका बोट मर्दै गएपछि सुन्तला खेती सम्भावित स्थानको खोजी गर्दै विस्तार गर्ने योजना कृषि ज्ञान केन्द्रको रहेको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा केही दिनअघि मात्रै उक्त स्थानको स्थलगत अवलोकन गरेको थियो । रासस

कमेन्टहरु
Loading...