लमजुङ । अलैंचीको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका किसानले अलैंची कारोवार गर्न थालेदेखि हालसम्मकै धेरै आम्दानी गरेका छन् । यसअघिको अधिकतम वार्षिक आम्दानी १३ करोडसम्म हुने गरेकामा यस वर्ष अलैंची बिक्रीबाट किसानले १८ करोड २० लाख आम्दानी गरेका छन् ।
जिल्लाका किसानले ३ हजार ५ सय क्विन्टल अलैंची दाना बिक्रीबाट सो रकम बराबरको आम्दानी गरेका हुन् । जिल्लामा विसं २०४१ बाट अलैंचीखेती विस्तार भएदेखि हालसम्मकै बढी उत्पादन तथा अलैंची दाना बिक्रीबाट उक्त रकम आम्दानी गरेको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अलैंची जोन सञ्चालक समिति लमजुङ संयोजक अजय तामाङले बताएका छन् । उनले भने, ‘१ दशकअघि १३ करोडसम्म अलैंची दाना बिक्रीबाट आम्दानी गरेको थियो यसअघिसम्म उक्त रकम नै सबैभन्दा बढी आम्दानी भएको रेकर्ड रहँदै आए पनि यस वर्षबाट उक्त रेकर्ड तोडिएको छ ।’
किसानले यस वर्ष जिल्लामा प्रतिकिलो अलैंची दाना ५ सय २० मा बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष १ हजार ५ सय क्विन्टल अलैंची बढी उत्पादन भएको थियो भने ६ करोड २० लाख बढी आम्दानी गरेको छ । यस वर्ष जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने मस्र्याङ्दी गाउँपालिका–७ का छिनखोलाका ख्याबा लामाले ८ सय ५० क्विन्टल अलैंची उत्पादन गरेका छन् ।
त्यस्तै सोही वडाका वीरबहादुर तामाङले ७ सय ५० क्विन्टल अलैंची उत्पादन गरेका थिए । सोही वडा लुदीका बलबहादुर तामाङले ६०० केजी तथा बेंसीसहर नगरपालिका–१० खाँचेका गुमबहादुर तामाङले ६ सय केजी अलैंची दाना उत्पादन गर्न सफल भएको अलैंची महासंघ प्रदेशका अध्यक्ष तामाङको भनाई छ ।
गत वर्ष जिल्लामा २ हजार क्विन्टल अलैंची दाना बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए । त्यस्तै अघिल्लो वर्ष ७ सय ५० क्विन्टल अलैंची दाना बिक्रीबाट किसानले ५ करोड २५ लाख आम्दानी गरेका थिए । विसं २०७४ मा उत्पादित ६ सय क्विन्टल अलैंची दाना बिक्रीबाट ४ करोड ४८ लाख आम्दानी भएको थियो । जिल्लामा हाल १ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा अलैंचीखेती हुँदै आए पनि १ हजार २ सय हेक्टर क्षेक्रफलमा मात्र उत्पादन हुँदै आएको छ । उक्त परियोजनाले अलैंची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेंसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।
सो क्षेत्रमा यस वर्ष जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन भएको उक्त समितिले जनाएको छ । केही वर्षअघि अलैंची व्यवसायमा हौसिएका किसानले राम्रो आम्दानी गर्न नसकेपछि निरास बन्दै गएको बेला यस वर्ष राम्रो आम्दानी गरेपछि केही आशा जागेको किसान बताउँछन् । केही वर्षदेखि राम्रो आम्दानी गर्न नसकेका किसानले यस वर्ष उत्पादित क्षेत्र र उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको उनीहरुको भनाई छ । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो २ हजार २ सयसम्म अलैंची दाना बिक्रीबाट लिने गरेका थिए ।
तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् । अलैंची किसानले कम्तीमा पनि प्रतिकिलो १ हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैंची दाना बिक्री गर्न बाध्य हुँदै आएका छन् । अलैंची दानाको मूल्य घटे पनि किसानलाई घाटा भने नपर्ने र राम्रै आम्दानी भएको उक्त समितिले जनाएको छ । जिल्लामा उत्पादित अलैंची दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा ७ सय मिटरदेखि १ हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटर उचाइमा गोलशाही तथा १ हजार ६ सयदेखि २ हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैंची बिरुवा लगाइँदै आएको छ । रासस