काठमाडौं । नेपाली फुटबल टोलीले ९ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाई भएको हो ।
आगामी चैतमा ३ देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार कोरोनाबाट केही खेलाडी संक्रमित भएपछि थप खेलाडीदाई बन्द प्रशिक्षणमा सहभागी गराइएको जानकारी दिएका छन् ।
बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई ४ चरणमा छनोट गरी अन्तिम टोलीको टुंगो लगाइने प्रवक्ता राईले बताएका छन् ।
सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षण थालेको हो । विश्वकपको एशियन छनोटमा नेपालले आफ्नै भूमिमा चैत १२ गते चाइनिज ताइपेइसित, चैत १७ गते अस्ट्रेलियासित तथा जेठ २४ गते जोर्डनसित छनोट खेल खेल्ने एन्फाले जनाएको छ ।
खेलाडीलाई कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दिइरहेका छन् । समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ छन् ।
अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन समान १० अंकसहित दोस्रो र तेस्रो स्थानमा तथा नेपाल ३ अंकसहित चौथो स्थानमा छ । चाइनिज ताइपेइ अंकविहीन अवस्थाामा रहँदै समूहको पुछारमा छ । रासस