तस्बिरः परिवर्तन गापामा बनेको चर्च
पछिल्ला दिनमा रोल्पामा चर्च निर्माण र मर्मतसम्भारमा स्थानीय सरकारहरूले बजेट खर्च गरिरहेका छन् । स्थानीय तहको बजेट पुस्तिका अनुसार जिल्लाका तीन वटा स्थानीय तहले चर्च भवन निर्माण, मर्मत र घेराबारा शीर्षकमा बजेट विनियोजन गरेका छन् ।
यी स्थानीय तहले गएको तीन वर्षमा १४ वटा चर्चका लागि रु.३६ लाख १० हजार बजेट खर्चिएका छन् ।

रोल्पा परिवर्तन गाउँपालिकामा वनेको चर्च ।
परिवर्तन गाउँपालिकाले चार वटा चर्चका लागि रु.९ लाख ५० हजार विनियोजन गरेको छ ।
उसले अघिल्ला दुई आर्थिक वर्षमा दुई वटा चर्चका लागि रु.४ लाख ५० हजार खर्च गरिसकेको छ भने चालु आर्थिक वर्ष दुई वटा चर्चका लागि थप रु.५ लाख विनियोजन गरेको छ ।
गंगादेव गाउँपालिकामा पनि चर्च निर्माणका तीन वर्षमा रु.६ लाख खर्च भएको छ ।
रुन्टीगढी गाउँपालिकाले ९ वटा चर्च सम्बन्धी योजनामा रु.२० लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
त्यो गाउँपालिकाले वितेका दुई वर्षमा चार वटा मण्डली निर्माण र मर्मतका लागि रु.१२ लाख सकेको हो । यस वर्ष चर्चका विभिन्न पाँच वटा योजनामा रु.८ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।
समुदायबाट माग भएकोले चर्चमा लगानी गरिएकोे लुंग्री गाउँपालिकाका प्रमुख दुर्गा खड्काको भनाइ छ । उनी भन्छन्, “मन्दिर र चर्च निर्माण र मर्मतले संस्कृति संरक्षण गर्न मद्दत पुग्छ, त्यसैले लगानी गरिएको हो ।”
सुनिल स्मृति गाउँपालिका ६ गजुलकी रेखा सुनार स्थानीय तहले शिक्षा, स्वास्थ्य क्षेत्रका विकराल समस्या हल गरेर मात्रै अरू क्षेत्रमा लगानी गर्नुपर्ने बताउँछिन् । सुनार भन्छिन्, “जनताले शिक्षा, स्वास्थ्य सुविधा नै पाएका छैनन् । तर स्थानीय तह मन्दिर र चर्च बनाउन सक्रिय हुनु उदेकलाग्दो छ । यसरी समृद्धि हासिल हुँदैन ।”
स्थानीय सरकार मात्र हैन, प्रदेश सरकारले समेत रोल्पामा चालु आर्थिक वर्षका लागि मन्दिर निर्माणमा ठूलो धनराशि खर्च गर्न लागेको छ ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीका स्वकीय सचिव पवन कुँवरका अनुसार, प्रदेश सरकारले शिवालय मन्दिर पुनर्निर्माणमा रु.१० लाख, बराह स्थल संरक्षण खुंग्रीमा रु.१० लाख, खुंग्री मन्दिर निर्माणमा रु.२० लाख र बाह्रेखोला बराहथान संरक्षणमा रु.१० लाख गरी मन्दिरका लागि रु.५० लाख विनियोजन गरेको छ ।
स्थानीय तहका हरेक वडामा दलित र महिला जनप्रतिनिधि भए पनि स्थानीय सरकारले दलित, महिला लक्षित कार्यक्रमभन्दा पनि मन्दिर र चर्च बनाउन लागिपर्नु अचम्मको विषय भएको संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मोहन परियार बताउँछन् ।
उनी भन्छन्, “शिक्षा, स्वास्थ्य क्षेत्रको समस्या जस्ताको तस्तै छन्, त्यसमा चासो छैन । पछि परेको वर्ग–समुदायको उत्थानमा चासो छैन । तर मन्दिर, चर्चको विकासमा मरिमेटेर लगानी गरिएको छ, त्यो पनि रोल्पामा ।”