नेपाल प्रहरी सेवामा युवाको उत्साह

पोखरा । मंसिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्रांगणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना बगाइरहेका छन् युवाको १ जत्था ।

तालिममा सहभागी कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा पर्वतकी २० वर्षीय स्वस्तीका परियार बाबुआमाको इच्छा पूरा गर्न प्रहरी भर्तीमा आएको बताउँछिन् । ‘भर्खर कक्षा ११ को परीक्षा दिएर आएको हो, आमा बुबाले छोरी प्रहरीमा भर्ती भएको देख्न चाहनुभएको छ उहाँहरुको इच्छा र मेरो रहरले राष्ट्रसेवामा लाग्न प्रेरित गरेको छ ।’ उनले भनिन्, ‘तालीम गाह्रो भए पनि आफू उत्तीर्ण हुने विश्वास लिएको छु ।’

अर्का सहभागी स्याङ्जा बयरघारीकी बिनिता एसकेले जापान जाने इच्छा मारेर प्रहरीमा जागिर खान आएको बताइन् । ‘जापान जान जापानी भाषा सिकेर बसेकी थिएँ । तर बाबाले विदेश नगए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्नुभयो, अब प्रहरी बनेर राष्ट्रसेवा गर्ने रहर आयो ।’ उनले भनिन्, ‘आजसम्मको प्रशिक्षण राम्रो भएकाले अब लिखित र अन्तवार्तामा सफल हुने विश्वास छ ।’ सशस्त्र प्रहरी रहेका दाइले प्रहरीको जागिर सुख नभई दुःख हुन्छ भने पनि आफूलाई यस क्षेत्रप्रति रुची जागेर आएको उनको भनाई छ ।

शारीरिक सहिष्णुता प्रशिक्षणमा उत्तीर्ण भएकी स्याङ्जाकी २० वर्षीया सुलोचना रेग्मीले दोस्रोपल्ट प्रहरीमा आवेदन दिएको बताइन् । उनी भन्छिन्, ‘यसअघि पनि म प्रहरी सहायक निरीक्षक पदका लागि आएको थिएँ, तर छिटै बाहिरिएँ, अहिले अलि बढी आत्मविश्वासका साथ आएकी छु, छनोट हुन्छु जस्तो लागेको छ ।’ स्नातक तेस्रो वर्षमा अध्ययनरत रेग्मीले प्रहरीको ‘चेन अफ कमाण्ड’ र अनुशासनका कुराले प्रहरी सेवामा जागिर खाने रहर लागेको बताइन् । ‘मलाई प्रहरीमा जागिर खान असाध्यै मन लागेको छ, हेरौं रहर कत्तिको पूरा हुन्छ ।’ उनले भनिन् ।

पर्वत शंकरपोखरी विष्टपानीका सञ्जय भुसालले यही मंसिर १६ गते मात्रै १२ कक्षाको परीक्षा सकेर प्रहरीमा जागिर खाने सोचले दर्खास्त दिएको बताए । आमाको निधन भइसकेको र बुबा एक्लो भएकाले विदेशभन्दा स्वदेशमै परिवारको रेखदेखसँगै राष्ट्रको सेवा गर्ने पाइने भएकाले प्रहरीमा भर्ति हुन आएको उनको भनाई थियो । ‘म परिवारको साथमा रहेर आफ्नै देशको सेवामा समर्पित भएर काम गर्ने रहरले यस क्षेत्र रोजेको हुँ, हेरौं बाँकी परीक्षा कस्तो हुन्छ आजसम्मको राम्रो भएको छ ।’ भुसालले भने ।

स्याङ्जाका १९ वर्षीय झलमान श्रेष्ठ सानैदेखिको रुचीले प्रहरीमा भर्ती हुन आएको बताइन् । कक्षा १२ पास गरेका श्रेष्ठले भने, ‘मलाई सानैदेखि प्रहरीमा जागिर खान मन लागेको थियो, मेरो काका पनि यस क्षेत्रमा हुनुहुन्छ । छनोट हुनसके यसै क्षेत्रबाट राष्ट्रसेवा गर्ने चाहना छ ।’

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक जयबहादुर खड्काले विगत वर्षभन्दा यो वर्ष सशस्त्र प्रहरीमा युवाको उत्साहजनक सहभागिता भएको जानकारी दिएका छन् । देशभरि जम्मा १ हजार ८ सय ३३ को दर्खास्त आह्वान गरिएको थियो । तर ५५ हजारको आवेदन परेको छ ।

गण्डकी प्रदेशमा २ हजार ४५ को आवेदन परेकामा अहिले ६ सय ७९ जना छनोटमा महिला ६२ र र पुरुष ६ सय १७ छन् । त्यसबाट पनि छनोट हुँदै जाने उनको भनाई छ । उनले अहिले कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाएको र विदेशबाट पनि युवा फर्किएकाले प्रहरी सेवामा युवाको आर्कषण बढेको हुनसक्ने बताएका छन् । उनका अनुसार प्रशिक्षणमा पढेलेखेका शारीरिकरुपमा पनि निकै तन्दुरुस्त युवाको सहभागिता रहेको र राष्ट्रसेवाप्रतिको भाव पनि निकै सकारात्मक देखिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक काजी खालिङ राई विभिन्न पाँच चरणबाट प्रहरीका लागि छनोट गरिने बताए । उनले अनुसार साधारण प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता प्रशिक्षण, स्वास्थ्य परीक्षण, लिखित परीक्षा, अन्तर्वार्ता दिएपछि उत्कृष्टताका आधारमा अन्तिम चरणबाट प्रहरी छनोट हुने जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक हस्तबहादुर गुरुङले राष्ट्रसेवाका लागि युवाको यो उत्साह निकै सकारात्मक भएको बताए । ‘महिला पुरुष दुवैको सहभागिता राम्रो छ, कोरोना कहरले धेरै युवालाई अहिले देशको माटोप्रति माया जगाएको छ । रोजगारको अवसर खोजिरहेका युवा प्रहरी सेवाप्रति निकै आकर्षित भएको अहिलेको आवेदनको संख्याले देखाउँछ ।’ उनका अनुसार गण्डकी प्रदेशका लागि पोखरा र तनहुँमा सशस्त्र प्रहरी भर्तीका लागि प्रशिक्षण भइरहेको छ । रासस

कमेन्टहरु
Loading...