म्याग्दी । मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिंचाई आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिंचाई आयोजना निर्माण गर्न ५६ लाख ७१ हजार १ सय ४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
विसं २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको कम्पनीका सञ्चालक गोपालप्रसाद भट्टचनले साउनदेखिनै काम सुरु गर्न खोजे पनि मुहान विवादले नपाएको बताएका छन् । औलाको छिमेकी रिमा गाउँका केही स्थानीयवासीले अवरोध गरेका कारण सम्झौता भएको ५ महिनासम्म पनि सिंचाई आयोजना निर्माण सुरु हुन नसकेको हो ।
२ गाउँका टोल सुधार समितिको सम्झौताअनुसार रिमाको पुछारमा रहेको खोला काईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्वेक्षण भएको थियो । औला सिंचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले बुझ्नै नसकिने माग अघि सारेर अवरोध गरिएको दुखेसो पोखे । ‘खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बहाना बनाइएको हो ।’ उनले भने, ‘वातावरणीय र जैविक विविधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौं भन्दा पनि दिइएन । वास्तविक कुरा के हो बुझ्नै सकिएन ।’
खानेपानी, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयका इञ्जिनियर बालकृष्ण बुढाथोकीले औला सिंचाई आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताएका छन् । उजका अनुसार २ हजार ४ सय ५० मिटर मुख्य पाइपलाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५ वटा शाखा पाइपलाइन बनाएर सिंचाईका लागि पानी वितरण गर्ने योजना छ ।
चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ । अन्नपूर्ण–७ का वडाध्यक्ष गमप्रसाद फगामीले रिमावासीलाई मनाएर सिंचाई आयोजना निर्माणमा भएको अवरोध हटाउने बताए । ‘औलामा कृषिको विकासका लागि सिंचाई प्रमुख आवश्यकता हो ।’ उनले भने, ‘वडा र पालिकाको तर्फबाट तत्कालै छलफल गरेर काम गर्ने वातावरण बनाउछौं ।’
औलाका डेढ सय घरधुरी कृषकले सिंचाई सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको गुनासो गरेका छन् । ‘गाउँ नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ ।’ स्थानीय दिपक पाइजाले भने, ‘सिंचाई नभएर हाम्रा खेतबारी बाँझै छन् ।’
यहाँका स्थानीयवासील बर्खामा आकाशे पानी र मूलको पानीको भरमा धान खेती गर्छन् । खेती हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाए पनि आकाशबाट पानी नपरे न्यून मात्रामा उत्पादन हुन्छ । रासस