लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य मायानाथ अधिकारीले परम्परादेखि चलिआएको सोंच, दृष्टिकोण र समाजको व्यवस्थाका कारण महिला हिंसा हुने गरेको बताएका छन् । कानुनमा महिला पुरुषको समानताको कुरा लेखिए पनि व्यवहारमा उतार्न नसकेको र हिंसा बढिरहेको अधिकारीको भनाई छ ।
पुरुषको तुलनामा महिला हिंसामा परेको पाइएकाले यसका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । ‘जब महिला शिक्षित भएर आत्मनिर्भर हुन्छन्, आफ्नो खुट्टामा उभिन सक्छन्, तब समाजमा हिंसा हुन्न ।’ उनले भने, ‘जो महिलाई कमजोर, अशिक्षित छ, उसैलाई हेप्ने प्रचलन रहेकाले महिला हिंसा अन्त्यका लागि महिला शिक्षित भएर आत्मर्निभर बन्नुपर्छ ।’
अधिकारीले नेपाली समाज सामन्ती व्यवस्था, सामन्ती परिपाटीबाट हुर्किएकाले र महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा लिने शैली, संस्कारबाट आएकाले हिंसा घट्ने गरेको बताएका हुन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा बेसीसहरमा आयोजित लैंगिक हिंसाको अवस्था तथा न्यायिक समितिका चुनौतिहरु विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
अधिकारीले देशको परिस्थिति, व्यवस्था, नियम कानुन बदलिए पनि मानसिकता बदलिन नसकेकाले समाजमा हिंसा हुने र महिलाले हिंसा सहनुपर्ने बाध्यता रहेको बताए । कार्यक्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पुरुषबाट महिला र महिलाबाट महिला पनि पीडित बनेको बताए । महिलालाई जन्मेदेखि नै हेर्ने दृष्टिकोण फरक भएकाले पनि महिला हिंसा हुने गरेको प्रमुख अर्यालले बताएका छन् ।