राजु गिरी, पोखरा ।
विकास निर्माणको काममा ढिलाई गरेमा निर्माण कम्पनी तथा व्यवसायीलाई कालो सुचीमा राख्ने र आवश्यक परे कारवाही गरिने गण्डकी प्रदेशका सांसद राजीव पहारीले बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २३ घाँटीछिना–भञ्ज्याङ सडक अन्तरगतको सिमटारदेखि डाँडाखेतसम्मको सडकको अनुगमन गर्दै सांसद पहारीले उक्त कुरा बताएका हुन् ।
देश समृद्धिउन्मुख भइरहेको अवस्थामा विकास निर्माणका काम रोकिन नहुने उनको जोड थियो । निर्माण व्यवसायी वा कम्पनीले ढिलाई गर्न थालेमा स्थानीयले पनि खबरदारी गर्नुपर्ने उनको भनाई छ । गण्डकी प्रदेश विकास निर्माणमा निरन्तर लागिरहेको र कास्की ३ ‘ख’ मा विकास निर्माणका लागि छुट्याइएको कुनै पनि बजेट फ्रिज नभएको उनले दावी गरे । सबै माग एकैपटक सम्बोधन गर्न नसकिए पनि प्राथमिकताका आधारमा सबैको माग पुरा गर्ने त्यहाँका स्थानीयको गुनासो सुन्दै सांसद पहारीले प्रतिवद्धता समेत व्यक्त गरे ।
यता त्यहाँका स्थानीयले सडक निर्माणको काममा ढिलाई भएकाले दुःख पाईएको बताए । सडक ढलान नभएकाले सवारी साधन गुडाउन समस्या भएको स्थानीय शिव घलेले बताए ।
त्यस्तै घाँटीछिना मकवानपुर भञ्ज्याङ ग्रामिण सडक उपभोक्ता समितिको अध्यक्ष दाम बहादुर विकले अब छिट्टै बाह्रै महिना जिप चल्ने अवस्था हुने बताएका छन् । अघिल्लो आर्थिक वर्षमा ठेकेदारले कोभिडको समस्या देखाएर निर्माणमा ढिलाई देखाएको जानकारी दिँदै यस्तो बाहाना स्वीकार्य नहुने उनले बताए ।
कुनै पनि ठाँउमा सडक छैन भने त्यस ठाँउको विकास नहुने वडा नं. २३ का वडाध्यक्ष विष्णु प्रसाद पराजुलीले बताए । सडकको विकास भएमात्र अन्य क्षेत्रको विकास गराउन सकिने उनको भनाई छ ।
यसै आउँदो असारसम्म घाँटीछिना–भञ्ज्याङ सडक अन्तरगतको सिमटारदेखि डाँडाखेतसम्मको २ सय ४५ मिटर लामो सडकमा ढलान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । उक्त ढलानका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारअन्तरगत ५० लाख र वडाबाट १० लाख गरि ६० लाख छुट्याइएको छ ।