दिपक के श्रेष्ठ
‘१ वर्ष बाँच्नु छ भने धान रोप, १० वर्ष बाँच्नु छ भने रुख रोप र १०० वर्ष बाँच्नु छ भने शिक्षा रोप ।’ उल्लेखित अंश चिनियाँ उखान हो । जसले शिक्षाको महत्व दर्शाउछ । तर यस्तै शिक्षाको थलोमा आजसम्म पनि ३ मध्ये कुनै एक तहको सरकारको ध्यान जान सकेको छैन । यसको प्रमाणस्वरुप गाइगोठको स्वरुपमा रहेको छ सुदूर अछामको कालिका प्राथमिक विद्यालय ।
धुलो, चिसो र अँध्यारो कोठामा विद्यार्थीहरु भुँइमै बसेर पढ्न बाध्य भएपछि अछामको कमलाबजार नगरपालिका १ स्थित कालिका प्राविका प्रधानाध्यापक देविराम सन्ज्याल (देवेन्द्र) सहयोग जुटाउन कस्सिएका छन् । वि.सं. २०५० मा स्थापना भएको प्रावि पुरानो भवनमा चलिरहेछ । हाल २ सय बढी विद्यार्थी रहेको विद्यालयमा डेस्क, बेञ्च नहुँदा प्रअ सन्ज्यालले सहयोगको अपील गरेका छन् ।
‘चिसो र अँध्यारो कोठामा विद्यार्थी पढ्न बस्दा मन चसक्क भयो’ सन्ज्याल भन्छन् ‘विद्यालयमा पैसा छैन, विद्यार्थी भुइमा बस्नुको विकल्प पनि छैन ।’ कैलालीका सन्ज्याल १ वर्ष अघि सरुवा भई कालिका प्रावि आएका हुन् । पढाउन पनि कन्तबिजोग हेर्नुपर्ने अवस्था भएकाे भन्दै उनले सहयोगको अपील गरेको गन्थनलाई सुनाए ।
हाल सन्ज्यालकै आग्रहमा केही मनकारी सहयोग गर्न तम्सिएका छन् । सामाजिक सञ्जालमार्फत सहयोग जुटाउन कस्सिएपछि कमलाबजार नगरपालिकाले हाललाई २० सेट डेस्क, बेञ्च उपलब्ध गराउने भएको छ । त्यस्तै, प्रदेशसभा सदस्य अक्कलबहादुर राववले विद्यालयको पर्खाल घेराबन्दी गर्ने वचन दिएका छन् । विद्यालयमा डेस्क, बेञ्च नभएको भन्दै सहयोग माग्न थालेको भन्दै केहीले असन्तुष्टी जनाएकोप्रति प्रअ सन्ज्यालले गुनासो पोखे ।
मैले विद्यालय र विद्यार्थीको हितमा काम गर्न खोजेको हुँ, मेरो कुनै स्वार्थ छैन’ उनले प्रष्ट्याए । स्थानीय निकायमा बाराम्बार विद्यालयको दूरावस्थाबारे जानकारी दिँदा पनि सुनुवाई नभएपछि सहयोगको झोली थाप्न बाध्य भएको उनको भनाई छ ।
विद्यालयमा अझै ८० सेट डेस्क, बेन्चको आवश्यकता छ । विद्यालयमा प्रअसहित १ राहत शिक्षक छन् भने नगरपालिका र वडा कार्यालयमार्फत १–१ शिक्षकको व्यवस्थापन हुने भएको छ ।
प्रअ सन्ज्यालले मनकारीहरूलाइ सहयाेगकालागि विद्यालयको प्रभु बैंक लिमिटेडमा रहेको खाता नम्बर १३०००९३७९८१००००१२ समेत दिएका छन् ।