एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔं’ अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिदै आएका छन् । राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन् । अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेता विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो ।
मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोना भाइरसको संक्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् । अमेरिकामा कारोना भाइरसबाट संक्रमित भएका मध्ये अहिलेसम्म २ लाख ७५ हजारभन्दा बढीको निधन भइसकेको छ ।
राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नु पर्नेमा जोड दिँदै आएका थिए । उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यस अनुसारको निर्णय र कार्यक्रमहरु ल्याउने बताएका छन् ।
मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन् । आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेवारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका छन् ।
अमेरिकामा हरेक ४/४ वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ । आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भने, ‘मैले पदबहाली गरेका दिन सबै अमेरिकीलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।’
उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारेका छन् । सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्युन हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरेका छन् । रासस