दिपक के श्रेष्ठ
३० वर्षदेखि साङलोमा बाँधिएका लमजुङ दोर्दी गाउँपालिकास्थित माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई उद्धार गरिएको छ ।
मानव सेवा आश्रम लमजुङ शाखाले गुरुङलाई उद्धार गरी बेशिसहरमा रहेको आश्रममा राखेको आश्रमकी संयोजक अनिता अधिकारीले जानकारी दिइन् । १८ वर्षकै उमेरमा मानसिक सन्तुलन गुमाएका गुरुङलाई परिवारले घरकै कोठामा साङलोले बाँधेर राखेका थिए ।
भारतीय सेनामा भर्ती हुन हिँडेका गुरुङ असफल भएर घर फर्कदा मानसिक सन्तुलन गुमेको परिवारले जनाएको छ । त्यसयता उनलाई नियन्त्रणमा लिन नसकेपछि घरकै कोठाभित्र उनी कहिले साङलो त कहिले दाम्लोमा कैद थिए ।
गुरुङलाई स्थानीय प्रशासनको रोहबरमा प्रहरीसहित माझगाउँ पुगेर आश्रममा ल्याइएको संयोजक अधिकारीले बताइन् । आश्रममा ल्याएपछि उनको स्वास्थ्य जाँच र उपचारका लागि थप पहल गरिने भएको छ ।
आश्रमकै संरक्षण र काउन्सिलिङमा रहने गुरुङलाई जहाँ उपयुक्त हुन्छ त्यही व्यवस्थापन गर्ने तयारी रहेको छ । हेटौडामा मूख्य कार्यालय रहेको आश्रमको विभिन्न स्थानमा २१ सेन्टर रहेका छन् ।
आर्थिक अवस्थामा कमजोर भएकै कारण उनलाई परिवारले उपचार गर्न नसकेपछि साङलोमा कैद गुरुङको सहयोगार्थ सामाजिक अभियन्ता सरिता गुरुङले फेसबुक फण्डरेजर क्याम्पेनमार्फत १० हजार रूपैयाँ सहयोग गरेकी छिन् ।