पोखरा । कास्कीको मादी गाउँपालिका–७ र ३ जोड्ने गरी मादी नदीमा ‘ज्याउदु मोटरेबल’ निर्माण गरिएको छ । तत्कालीन जिविसमार्फत सुरु भई हाल प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयन गरिएको सो पुल निर्माणपछि मादी गाउँपालिकाको उत्तरी भेगका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
सो मोटरेबल पुलको सोमबार सांसद खगराज अधिकारीले कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
बर्खायाममा मादी नदी बढेपछि यातायात सम्पर्कबाट विमुख हुने मादीपारिका पर्यटकीय गाउँ ताङतिङ, घ्यामराङ, रोही, सेतीखोला, याङ्जाकोट, स्यारचोक, कुस्कुडाँडा, हरिस्वाराँ लगायतका गाउँका नागरिक पुल बनेसँगै उत्साहित भएका छन् । जिल्लामै पहिलोपटक ‘प्रिस्टेस’ डिजाइनमा ८३ मिटर लामो सो पुल ८ करोड ६ लाखमा निर्माण गरिएको पूर्वाधार कार्यालयका इन्जिनियर गुरुदत्त अधिकारीले जानकारी दिएका छन् । पुल निर्माणका लागि विसं २०७२ चैत २१ मा मृतसञ्जीवनी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।
विसं २०७६ को असारमा ढलान गर्न तयारी अवस्थामा रहेको सो पुल मादीले बगाएपछि काममा पुनः ढिलाइ भएको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले माथिल्लो गाउँ क्षेत्रलाई जोड्ने आफूहरुको सपना ज्याम्दु मादी पुलले पूरा गरेको बताउँदै विकटतालाई निकट र छुट्टिएको गाउँलाई नजीक ल्याएकामा खुसी व्यक्त गरे ।
गुरुङले राजमार्गसहितको विकास मादीमा शुरु भएको जनाउँदै पुल निर्माण गाउँपालिकाका लागि ‘टर्निङ प्वाइन्ट’ भएको तथा विकास र अवसरको ढोका खुलेको बताएका छन् । उनले भने, ‘ज्याउदु पुलले मादीपारिका जनताको मुहारमा खुसी छाएको छ । यससँगै मादीको भैंसेसम्म आउने मध्यपहाडी राजमार्गलाई यही पुल हुँदै वडा नं ७ को मेलबोट भएर पोखरा लैजान सकेको खण्डमा गाउँपालिकाको धेरै वडा पक्की राजमार्गले छुनेछ ।’
यसैगरी मादी गाउँपालिका–७ को सवीको ठाडो खोलामा ट्रस पुल निर्माण गरिएको छ । पुल निर्माणपछि वडा नं ६ र ७ का १ सय घरधुरीका ५ सय ५० जना प्रत्यक्ष लाभान्वित भएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिएका छन् ।
सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रम तथा गाउँपालिकाबाट गरी २२ लाख ३९ हजार १ सय ८ तथा जनश्रमदान ५१ हजार ७ सय ५० गरी २२ लाख ९० हजार ८ सय ५७ मा पुल निर्माण गरिएको घट्टेखोला सवी ट्रष्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर विकले जानकारी दिएका छन् । रासस