पुराना टेबल टेनिस खेलाडी शाक्यको निधन

बाग्लुङ । धवलागिरी क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिएका छन् । बाग्लुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थिए ।

टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा अनिवार्य अवकाश पाएका थिए । सुख आफू खेलाडी छँदा तत्कालीन धवलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए । टेबल टेनिस खेलेर पहिलोपटक धवलागिरिमा सुखले पदक भित्र्याएको सदस्यसचिव शाक्यले बताए । ‘धेरै राम्रो खेलाडी हुनुहुन्थ्यो, पछि उहाँको प्रशिक्षणबाट उत्पादन भएका खेलाडी पनि राष्ट्रियस्तरमा चिनिए ।’ शाक्यले भने । उनले सुखलाई अनुशासित र मिलनसार व्यक्तित्वका रूपमा स्मरण गरे ।

खेल प्रशिक्षणका सिलसिलामा सुख केही वर्ष कैलालीमा समेत बसेका थिए । उनले जिल्ला खेलकूद विकास समितिमा लामो समय सेवा गरेका थिए । सुखको निधनले जिल्लाको खेलजगत् स्तब्ध बनेको खेलाडी तथा प्रशिक्षक संघ बागलुङका अध्यक्ष राजनकुमार पाइजाले बताएका छन् । सुखका एक छोरा र एक छोरी छन् । रासस

कमेन्टहरु
Loading...