बेनीबाट नेटा जाँदा गुडिरहेको मोटरसाइकलमा एक्कासी आगलागी, हेर्दाहेर्दै भयो खरानी

दिपक के श्रेष्ठ

म्याग्दीका विकास आचार्यले बाग्लुङको भिएस शोरुमबाट हिरो कम्पनीको ‘एक्सपल्स – २००’ मोटरसाइकल किने । किनेको ३ दिनपछि बेनीबाट मंगला गाउँपालिकाको नेटा जाने क्रममा बाटैमा मोटरसाइकलको सिट मुनिबाट आगो बल्यो । हतारहतार ओर्लिएर आगो निभाउने प्रयास गरेपनि उनी असफल भए । हेर्दाहेर्दै बाटैमा मोटरसाइकल खरानी भयो ।

 

घटना गत असोज ६ गतेको हो । मोटरसाइकल जलेर खरानी भएपछि तस्बिर र भिडियोसहित शोरुममा खबर गरे । आचार्यले भने, ‘टेस्ट ड्राइभ गर्दा मन प¥यो, डाँडाकाँडाको बाटो सजिलो हुन्छ भनेर किनेको झन्डै ज्यान गएन ।’ मोटरसाइकल खरानी भएलगत्तै शोरुममा जानकारी गराए पनि उनले सट्टामा अर्को मोटरसाइकल अझै पाएका छैनन् ।

 

शोरुमबाट हिरोको आधिकारिक बिक्रेता र त्यहाँबाट भारतमा यसको जानकारी गराइएपछि अहिले उनलाई कम्पनीले अर्काे मोटरसाइकल दिने भएको छ । ‘लामो समयसम्म रेस्पोन्स नै आएन, अब बाइक दिने भनेको छ’ उनले भने ‘नपाउञ्जेल यसै भन्न सकिएन ।’ उनका अनुसार सोमबार शोरुमले उनलाई अर्काे मोटरसाइकल उपलब्ध गराउने जानकारी दिएको छ ।

सुरुमा घटनाबारे जानकारी दिएपछि शोरुमले उनलाई घटना गुपचुप राख्न भनेको थियो । उनले माने । तर चुप लागेर बस्दा कुनै रेस्पोन्स नआएपछि उनले सामाजिक सञ्जालमार्फत आगलागीको तस्बिर र भिडियो सार्वजनिक गरेको बताएका छन् ।

 

हिरोको आधिकारिक बिक्रेता एनजीएमले भने घटनाको अनुसन्धान गर्न भारतबाट हिरो मोटोकर्पकै कर्मचारी आउनु पर्ने भएकाले समय लागेको जनाएको छ ।

कमेन्टहरु
Loading...