अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना देखिएको छ ।
अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा उनलाई नियुक्त गरेर बजेट तर्फको जिम्मेवारी दिने सम्भावना रहेको समाचारमा जनाइएको छ ।
न्युयोर्क टाईम्सले लेखेको समाचारका अनुसार उहाँलाई अमेरिकामा विकासका बारेमा अनुभवी व्यक्तिका रुपमा चिनिने गरिन्छ ।
बाइडेनले अर्थसम्वन्धी आफ्नो समूहका अन्य व्यक्तिहरुको पनि सूची बनाउनुभएको र त्यसलाई अन्तिम रूप दिएर घोषणा गर्न लाग्नुभएको जनाइएको छ ।
उनले नियुक्त गर्ने मुख्य मुख्य पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिएको देखिएको छ । अर्थबाहेक अन्य दर्जनौ सल्लाहकार तथा सहयोगी समुहहरुमा पनि उनले महिलाहरुलाई प्राथमिकता दिएका छन् ।
बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरुमा पनि सबै जना महिला हुने घोषणा गरेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।
बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरूलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् ।
बाइडेन र ह्यारीको नयाँ टिमले आफ्नो कार्यकाल सुरु गर्नु अगाडि अहिले पुर्व तयारीका कार्यहरुलाई तिव्रता दिएको छ । यसअघि बाइडेनले अन्य पदहरूमा पनि धेरै व्यक्तिहरुलाई नियुक्त गरिसक्नुभएको छ ।
अमेरिकामा हरेक चार बर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन कार्यभार सम्हाल्ने व्यवस्था रहेको छ ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउस प्रवेश गरेपछि पूर्ण क्षमताका साथ काम गर्नेगरी अहिले उनीहरुले पुर्व तयारीलाई तिव्रता दिएका छन् ।