पोखरा खोजः सय वर्षे इतिहास मेटाउँदै पोखरेली !

रिना थापा । सय वर्षको महत्व बुझ्न इतिहास पल्टाउन पर्छ । सांस्कृतिक र ऐतिहासिक धरोहरमा सय वर्षको आयुले विश्व सम्पदा सूचीमा पकड जमाउने गर्छ । त्यस्तै १ सय वर्ष आयु बोकेको बालधारा भने स्थानीय र सम्बन्धित निकायको लापरवाहीले रुग्ण अवस्थामा पुगेको छ ।

प्रसंग हो पोखरामा ठीक १ सय वर्ष अघि बनाइएको बाल धारा । सन् १९७७ मा तत्कालिन चिफ इन कमाण्डर बबर शमशेरले पोखरामा एकैपटक १२ भन्दा बढी बालधारा बनाएका थिए । आफ्नो नाबालक छोरा बाल शमशेरको स्मृतिमा बनाइएका ती बालधाराले स्थानीयको तिर्खा त मेट्यो नै, ऐतिहासिक र सांस्कृतिक पक्षको उजागर समेत ग¥यो । तर गौरवपूर्ण इतिहास बोेकेका पोखराको बालधारा अहिले कै नालामा भेटिन्छन् त कतै घर सडकले छोपिएका त्यो पनि अवशेषका रुपमा मात्र ।

तत्कालिन अवस्थामा पोखराको पुरानो बजार मानिएको भैरवटोल, तेर्सापट्टी, नालाको मुख लगायतका विभिन्न स्थानमा बालधारा बनाइएको थियो । पुरातात्विक खोजकर्ता सुनिल उलकका अनुसार यी बालधाराहरु वि.सं. १९७७ सालमा निर्माण गरिएका हुन् ।

तत्कालिन समयका सैनिक कमाण्डर इन चिफ बबर शमशेर आफ्नो नाबालक छोरा बाल शमशेरको सम्झनामा यस्ता प्रकारका धारा पोखराका अन्य १२ स्थानमा निर्माण गरिएको उलकले जनाए । उलकको उक्त जानकारीलाई पुष्टि गर्ने गरी हरेक धाराहरुमा बबर शमशेर स–परिवार पोखरा आउँदा साढे १३ वर्षमै निधन भएका पुत्र बाल शमशेरको स्मृतिमा उक्त बालधारा निर्माण गरिएको उल्लेख छ । यी धाराहरु बबर शमशेरले किर्तीपुरका बैकुण्ठलाल श्रेष्ठको डिजाइनमा निर्माण गराएका थिए ।

यति धेरै ऐतिहासिक बालधाराको स्थिति अहिले नाजुक छ । धेरै व्यवस्था फेरिए, सयौं जनप्रतिनिधि चुनिए, तर कसैले पनि बालधाराको संरक्षणमा चासो भने देखाएनन् । जसलाई अहिले त कतै बालधाराका अवशेष मात्रै भेटिन्छन् भने कतै धारा नै भत्काएर बाटो निमार्ण गरिएको छ । कहीं त धारा भएका स्थानमा निजी घरका पिढीले धाराको अस्तित्व मेटाइदिएको छ ।

पोखरामा मावनबस्तीको सुरुआत भएको लामो समय नभएको जानकार बताउँछन् । जुन बेला पोखरामा पिउने पानीको अभाव थियो नै । बबर शमशेरले निर्माण गरिदिएका यी बालधाराले अभावको त्यो बेला पोखरेलीको तिर्खा मेटिएको बताइन्छ । अर्को इतिहास पनि के छ भने फलामको पाइपबाट पानी ल्याएर सार्वजनिक कलधारा निर्माण भएको बालधारा नै हो ।

तत्कालिन पोखरा पञ्चायतको पस्र्याङको धारापानीबाट ल्याइएको पानीले पोखराका १२ स्थानमा पानीको पाइप जडान गरिएको थियो । ती स्थानहरुमा हालको वडा नम्बर १ को बागबजार चोक (जहाँ अहिले पनि धारा देख्न सकिन्छ), वडा नम्बर २ विन्दावासिनी परिसरभित्र (जहाँ अहिले अवशेष देख्न सकिँदैन), वडा नम्बर १ मोहरिया टोलको संगम चोक (शिलालेख मात्र देख्न सकिन्छ), वडा नम्बर २ भैरव टोल (उक्त स्थानमा धारा देख्न सकिन्छ), वडा नम्बर २ भिमसेन टोल जहाँ अहिले खम्बा मात्र छ ।

त्यस्तै वडा नम्बर ४ नालामुखमा धाराको अवस्था केही हदसम्म राम्रो देख्न सकिन्छ । तर उक्त स्थानका स्थानीयले धाराको ढुड भत्काएका छन् । जून हेर्दै दयनीय अवस्थामा छ । वडा नम्बर ४ गणेश टोलका २ स्थानमा रहेका धारामा अहिले भने घर तथा फुटपाथ बाटो निर्माण भएर अवशेष समेत देख्न पाइँदैन । यद्यपि उलकका अनुसार उक्त स्थानमा उत्खनन् गर्ने भने धारा देख्न भने सकिन्छ ।

त्यस समय सिद्धार्थचोकमा बनाइएको धारा अहिले बाटो र घरले मेटाएकोे छ । यता वडा नम्बर ८ सिमलचौरमा भने धारा देख्न सकिन्छ । वडा नम्बर ३ तेर्सापट्टिमा अवस्थित धाराको अवस्था भने केही हदसम्म राम्रै अवस्थामा छ । जसलाई भिन्तुना युवा क्लब र बालधारा संरक्षण अभियान समितिले मर्मत गर्न लागेको छ । वडा नम्बर ९ साँघुमुखमा अवस्थित धारा पनि अहिले घरको पिडिले छेकिएको छ । उक्त धारा भएको स्थानमा सानो पाइप मात्र देख्न सकिन्छ ।

त्यस समयमा सोही धाराको पानी पिउने व्यक्तिले तत्कालीन समयमा १२ वटा धारा निर्माण भएको बताएका छन् । तर अहिले खोजकर्ता सुनिल उलक त्यस समय १४ वटा धारा निर्माण भएको हुन सक्ने बताउँछन् । नेपाल टेलिकम र पुरानो धारा चोकमा समेत बालधारा निर्माण भएको हुन सक्ने उलकको भनाई छ । यद्यपी यस विषयमा खोजी कार्य भइरहेको छ । जसको कुनै आधिकाकिरता भने अहिलेसम्म भेटिएको छैन । बाँकी १२ वटा धाराको कतै अवशेष त कतै शिलालेख देख्न सकिन्छ ।

कुनै समय पानी पिउने मुख्य धारा बनेको उक्त धारा कालान्तरमा अपहेलित भएको छ । त्यस समय धाराको बाँया तर्फ गाईभैंसीलाई पानी खुवाउने ‘ढुङे डुड’  बनाइएको थियो । त्यस समयमा धाराको पानी पिएर हुर्किएका ७७ वर्षीय क्षेत्रलाल कायस्थको स्मृतिमा बालधारामा पानी पिएको याद अहिले पनि ताजै छ । उनी भन्छन्, ‘त्यस समय नुहाउनेदेखि कपडा धुने, पिउने पानी भर्ने सबै त्यस धाराबाट हुन्थ्यो, पहिले त्यहीं धारा पानीको स्रोत थियो, अहिले उपेक्षित बन्यो ।’

बालधारा निर्माण भएपश्चात् वि.स २०२२ सालमा भोटीखोला योजना आएको थियो । २०२६ सालमा बालधाराको पानी रत्न मन्दिरमा जोडेपछि पानी बिस्तारै सुक्न थालेको जानकार बताउँछन् । कायस्थका अनुसार त्यस समय बिस्तारै पानी सुक्दै गएपछि आफूहरुले खानेपानीमा यस बारे खबर गर्दा सम्बन्धित निकायले सार्वजनिक धारोमा प्रयोग गरेको पानीको पैसा समेत मागेका थिए । पानी सुक्दै गएपनि मानिसमा भने ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्छ भन्ने चेत विकास नभएको कायस्थले बताए ।

उनी सम्झन्छन्, ‘भोटी खोलाको पानी आएपनि पिउन बालधाराको पानी नै प्रयोग गरिन्थ्यो, भोटी खोलाको पानी त भाडा र कपडा धुन मात्र प्रयोग हुन्थ्यो, पछि रत्न मन्दिरमा पानी लगेपछि आउन छाडेको हो । कहिलेकाही अहिले पनि आउँछ, तर कति बेला भन्ने थाहा हुन्न ।’ उनका अनुसार ऐतिहासिक कुराको संरक्षण हुन जरुरी छ ।

दुरावस्थाको बालधारा संरक्षणको निम्ति १ सय वर्षपछि बल्ल छैंटोमा घाम देखिएको छ । सुनिल उलकको संयोजकत्वमा ‘बालधारा संरक्षण अभियान समिति’ गठन भएको छ । जसमा सुर्य क्षेत्री, विष्णु अधिकारी र राजन श्रेष्ठ सदस्य रहेका छन् । अभियान अन्र्तगत हाल तेर्सापट्टिमा धाराको मर्मत कार्य भइरहेको छ । उलक आफैंले पनि बालधाराको पानी प्रयोग गरेका थिए । उनी भन्छन्, ‘२०३८ सालसम्म हामीले भेरहव टोलको पानी प्रयोग गथ्र्यौं पछि पानी लगातार आउन छोड्यो, अहिले त सार्वजनिक धारा समेत कहिले नचाहिने जसरी उपेक्षित बन्यो ।’ उनका अनुसार माथिल्लो तहका सम्बिन्धत निकायबाट सकारात्मक प्रतिक्रिया वा सहयोग आएको छैन ।

 

पोखरामा पुरातात्विक संरक्षणका लागि पहिले प्रदेश संग्रहालयले हेर्ने गथ्र्यो । तर अहिले त्यस सम्बन्धी सम्पूर्ण कार्य प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेर्ने गर्छ ।

अवस्था कतिसम्म नाजुक छ भने सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश नै यसबारे अनभिज्ञ छ । मन्त्रालयका प्रवक्ता तेज प्रसाद काफलेले बालधाराबारे मन्त्रालयमा तथ्यांक र जानकारी नआएको बताए । उनले भने, ‘यस विषयमा हामीलाई केही सुचना आएको छैन, थाहा पनि भएन, यदि संरक्षणको अभाव छ भने वडा र महानगरपालिका अन्तर्गत पत्र आए हामी हेर्ने छौं ।’

 

यता वडा ३ र वडा ४ का वडाध्यक्ष भने मौखिक रुपमा धारा संरक्षण गर्ने प्रतिवद्धता दिएका छन् । ३ र ४ नम्बर वडाध्यक्षहरु धारा संरक्षण अभियानमा साथ दिन समितिसँग जुटेका छन् । अहिले उक्त धारापानीबाट प्रस्याङ क्षेत्रमा दैनिक २० हजार लिटर पानी उपलब्ध हुँदै आएको छ ।

 

कमेन्टहरु
Loading...