बुटवलको अपांग आश्रमलाई पोखरा मालेपाटनको बाराही स्कुलका भुतपूर्व विद्यार्थीद्वारा सहयोग हस्तान्तरण

पोखरा । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको नेपाल अपांग आश्रमलाई पोखरा ५ मालेपाटनमा रहेको बाराही माविको एसएलसी ब्याज २०४५ सालका विद्यार्थीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । आश्रमको आर्थिक अवस्था तथा भवन समेत कमजोर अवस्थामा उनीहरुले आश्रमलाई नगद १ लाख १६ हजार रुपैयाँ आज बाराही स्कुलको प्रांगणमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा एसएलसी ब्याज २०४५ सालका विद्यार्थी समेत रहेका धनबहादुर नेपालीले कोरोना कहरका बीचमा पनि आश्रमलाई आर्थिक सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

आगामी दिनमा अझै पनि आश्रमलाई सहयोग गर्ने उनको प्रतिवद्धता थियो । उनले कार्यक्रममा बाराही माविमा शिक्षा तथा अभिभावकका लागि भवन बनाउने योजना रहेको सुनाए ।

त्यस्तै पोखरा ५ कै वडा सदस्य उज्ज्वल खत्रीले यो सहयोग कार्यक्रम बुटवल तथा पोखराबीचमा भावनात्मक सम्बन्ध गाँस्ने राम्रो माध्यम भएको बताए । एसएलसी ब्याज २०४५ सालका विद्यार्थीहरुले आश्रमलाई गरेको सहयोगप्रति उनले कार्यक्रममा धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बरालले कोरोना कहराले बाराही माविको वार्षिक उत्सवका कार्यक्रम गर्न नपाएको बताए । यो महामारीले सबैलाई समस्या उत्पन्न गराएको अवस्थामा पनि सहयोग प्रदान गर्नु निकै उत्कृष्ट कार्य भएको उनको भनाई थियो ।

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ की वडा सदस्य मायादेवी दर्नालले यो सहयोगले आश्रमलाई व्यवस्थित बनाउन सहयोग गर्ने बताइन् । पोखराबाट सहयोग पाउँदा खुसी लागेको उनको भनाई थियो । कार्यक्रम सहयोगका लागि मात्र नभएर पोखरा तथा बुटवलका लागि सम्बन्ध बढाउने माध्यम भएको उनले बताइन् ।

आश्रमका लागि हेमा खवासले २० हजार, राम भण्डारीले २० हजार, टंक केसीले २० हजार, मधु गौचनले २० हजार, गोविन्द खत्रीले १९ हजार, रेखा श्रेष्ठले २ हजार, लक्ष्मी रेग्मीले २ हजार, शुशिला गुरुङले ५ हजार, अर्चना गुरुङले ५ हजार तथा पोखरा ५ का वडाध्यक्ष नेपालीले ३ हजार नगद सहयोग गरेका थिए ।

कमेन्टहरु
Loading...