दिपक के श्रेष्ठ
-पढ्न पाऊँः विद्यार्थी
-करार देऊः आंशिक प्राध्यापक
-सकेको गरिरा’छुः क्याम्पस प्रमुख
माथि उल्लेखित संवाद पोखराको पृथ्वीनाराण क्याम्पस परिसरमा सुन्न पाइन्छ । र, संवादले क्याम्पस भद्रगोल भएको जनाउँछ । मुलुककै ठूलो क्याम्पसमा अहिले विद्यार्थी र प्राध्यापक दुबै आन्दोलनमा छन् । गत भदौदेखि निर्णायक आन्दोलनमा उत्रेका आंशिक प्राध्यापकसँगै अहिले विद्यार्थी संगठन पनि थपिएपछि क्याम्पसमा चहलपहल बढेको छ ।
चैत यता कोरोना संक्रमणकाकारण लकडाउन सुरु भएपछि देशैभर पठनपाठन बन्द छ । त्यसपछि अध्ययन अध्यापन सुरु गर्न अनलाइन प्रणाली अपनाउनु निधो गरिए पनि क्याम्पसमा असहज वातावातरण सृजना भएपछि अब के गर्ने भन्ने अन्यौल छ ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा समयमै सुरु गर्ने निर्णय गर्दै रुटिन निकाल्न थालेपछि विद्यार्थीहरुले शीघ्र पठनपाठन सुरु गर्न भनिरहेका छन् । क्याम्पसमा प्राध्यापनरत जनशक्तिमध्ये ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक प्राध्यापकहरु भने करारमा नियुक्ति माग गर्दै आन्दोलनमा छन् ।
क्याम्पसले अनलाइन पढाउन चाँजोपाँजो मिलाए पनि आंशिक प्राध्यापकहरुले करारको माग गर्दै आन्दोलनमा रहेकाले विद्यार्थीहरु पनि ‘पढ्न पाऊ’ भन्दै बिहीबारदेखि आन्दोलनमा छन् । विद्यार्थीको पढ्न पाउने अधिकारमाथि बेवास्ता भएको भन्दै नेपाल विद्यार्थी संघले पनि चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
संघले घोषणाअनुरुप आइतबार क्याम्पस प्रमुख डा. सरोज कोइराला र आंशिक प्राध्यापक पृना अध्यक्ष सुनिल गौतमलाई ध्यानाकर्षण गराउँदै विरोधपत्र बुझाएको छ । पत्र बुझाउँदै नेविसंघ पृथ्वीनारायण क्याम्पस इकाई सभापति दिपक शर्माले मौनरुपमा सुरु गरिएको आन्दोलनलाई बेवास्ता गरी समस्या समाधानार्थ उन्मुख नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
यसअघि, अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रशासन र आन्दोलनरत प्राध्यापक संघलाई ध्यानाकर्षण गराइसकेका छन् । उनीहरुले यही १५ गते विद्यार्थी, क्याम्पस प्रशासन र आंशिक प्राध्यापक संघलाई संयुक्त बैठकमा आउन आह्वानसमेत गरेको छ । संयुक्त विद्यार्थीकोतर्फबाट ‘बैठकबाट समेत निष्कर्ष निकाल्न नसकेमा संयुक्त विद्यार्थी संगठन चरणबद्ध आन्दोलनमा जान बाध्य हुने’ जानकारी गराइएको छ ।
क्याम्पसका आंशिक प्राध्यापकहरु विगत १५ वर्षदेखि समान कामको, समान ज्याला माग गर्दै आन्दोलनमा छन् । त्यसयता त्रिविले पटकपटक गरेको सम्झौता कार्यान्वयन नहुँदा मर्कामा परेको आंशिक प्राध्यापक संघ पृना अध्यक्ष सुनिल गौतमले बताए । उनले भने, ‘हामीले श्रमको मूल्य मागेका हौं, हामीसँग गरिएको सम्झौता लागु गरी तुरुन्त करारमा नियुक्ति गरियोस् ।’
यस विषयमा क्याम्पस प्रमुख कोइरालालो भने आफुले सकेसम्म प्रयास गरिरहेको बताउँदै यही समस्या समाधान गर्न लागिरहेको जनाए । आंशिकको समस्या सम्बोधन गर्ने साँचो त्रिवि र प्रधानमन्त्रीको हातमा रहेको बताउँदै उनले यसका लागि यथाशक्य पहल गरिरहेको बताए । ‘अब पढाई हुन्छ त?’ प्रम्ुख कोइराला भन्छन्, ‘सबै पक्ष जिम्मेवार हुनुप¥यो ।’
करिब १३ हजारको हाराहारीमा रहेको क्याम्पसमा आंशिक प्राध्यापकको संख्या २ सय बढी छ । क्याम्पस प्रशासनको आग्रहमा अनलाइन क्लास लिन भनिए पनि आंशिकहरुले प्राध्यापन नगरिदिँदा पठनपाठन सम्भव हुन सकेको छैन ।