पोखराको गण्डकी मेडिकल कलेजमा थप १ जनाको कोरोना संक्रमणबाट निधन, ९ जना संक्रमित थपिए

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ की ७६ वर्षीय कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान साढे ७ बजेको समयमा निधन भएको हो । उनलाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४७ पुगेको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु पोखरा २ की ३९ वर्षीय महिला, ३ का ३० वर्षीय पुरुष, ६ की ७९ वर्षीय महिला, ८ का ५० वर्षीय पुरुष, १० की ४० वर्षीय महिला, १४ का २१ वर्षीय पुरुष, १५ का ५० र ६४ वर्षीय २ जना पुरुष तथा वडा नम्बर ३० की ३२ वर्षीय महिला रहेका छन् ।

आज बिहान समेत कास्कीमा ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरु ४९ जना पोखरा तथा २ जना रुपा गाउँपालिकाका रहेका थिए । यससंगै आज यो समाचार तयार पार्दासम्म पोखरा तथा रुपा गाउँपालिकामा गरेर कास्कीमा ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लमजुङमा १ जना, स्याङ्जामा २ जना तथा तनहुँमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ६ सय ५० पुगेको छ ।

कमेन्टहरु
Loading...