रिना थापा
राजधानीको आकाशे पुल (स्काई ब्रिज)को फाइदाबाट मोहित भएर पोखराको सिर्जनाचोकमा पनि निर्माण शुरु गरिएको संरचना अहिले स्थगित भएको छ ।
पोखराको सौन्दर्यकरण हुने र पैदलयात्रीलाई सडक पार गर्न सजिलो हुने हेतुले निर्माण सुरु गरिएकोे काम त्यतिबेला रोकियो जब आकाशे पुलको पिल्लरलाई छेउछाउमा रहेको बिजुलीको पोलले अवरोध ग¥यो । चोकको चारै कुनामा रहेको बिजुलीको ६ वटा पोलको उचाईले पिल्लरलाई अवरोध गरेको हो ।
निर्धारित समयमै काम सक्ने गरी सुरु गरिएको निर्माणमा आकाशे पुलको पिल्लर ठडिएपछि बल्ल महानगरको चेत खुल्यो । गतवर्ष जेठ ५ गते महानगरले २ करोड ३० लाख रुपैयाँमा आकाशेपुल निर्माणको काम ०७७ साउन २७ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनी केएमजेबिएनएस पोखरा जेबीले आकाशे पुल बनाउने जिम्मा पाएको थियो ।
समयमै सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कार्य यतिबेला महानगरकैै कारण रोकिन पुगेको छ । कुनैपनि संरचना निर्माणपूर्व साइटको अध्ययन गर्ने गरिन्छ । उसो त पुल निर्माणका लागि पोखरा महानगरले सम्झौता हुनुपूर्व एक वर्ष अगाडि डिजाइन तयार गरेको बताएको थियो ।
तर अहिले भने महानगर कमजोर अध्ययनले पुल निर्माणका लागि बिजुलीको पोल बाधक बनेको स्वीकार्न हिच्किचाएको छ । यद्यपि, पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने पहिले जे भएपनि अब समाधान खोज्नेतर्फ लाग्ने बताए । ‘पहिले जे भयो सकियो अब के गरेर निर्माण कार्य अगाडि बढाउन सकिन्छ हाम्रो विषय त्यो छ, हामी प्राधिकरणसँग समन्वय गर्दैछौँ’ उनले भने ।
उनका अनुसार अब छिटै नै बाधक बिजुलीको पोल हटाएर निर्माण कार्य थालनी गरिन्छ । अहिले आकाशे पुलको पिल्लर हाल्ने काम समेत सकिएको छ । ४ स्थानबाट पुलमा झर्ने र चढ्ने गरि ठड्याइएको पिल्लर जोड्ने काम मात्र बाँकी छ । निर्माण कम्पनी केएमरजेबिएनएसका संचालक सोम थापाका अनुसार कम्पनीलाई काम सक्न बाधक बिजुलीको पोल बनेको छ । उनले भने, ‘११ हजार भोल्टको बिजुलीको पोल हटाईदिए निर्माण कार्य सक्न १ महिना पनि लाग्दैन ।’
थापाका अनुसार पुल निर्माणका लागि चाहिने ९० प्रतिशत सामान कम्पनीको स्टकमा छ । कम्पनीमार्फत निर्माणकार्यमा सुस्ताई वा लापरवाही केही भएको छैन । ‘महानगरले ठेक्का दिनु पहिले साइट क्लीयर गरेर दिनुपथ्र्यो, सम्बन्धितसँग पहिले समन्वय गरेर हटाउनुपथ्र्यो’ उनले भने ।

उक्त स्थानमा नेपाल विद्युत प्राधिकरणको ११ मिटर अग्लो पोल छ । आकाशे पुलको संरचना तयार पार्न त्यसको सट्टा १६ मिटरको पोल राख्नुपर्छ । पोखरा महानगरले उक्त पोलको जिम्मा प्राधिकरणले लिनुपर्ने बताएको छ । प्राधिकरणका प्रमुख सुरेन्द्र साह भने पुरानो पोल हटाएर नयाँ पोल राख्ने जिम्मेवारी नभएको बताउँछन् । तत्स्थानमा रहेका पोलले विद्युत प्रवाहमा काम गरेको बताउँदै उनले अन्य काममा प्राधिकरणको दायित्व नहुने उल्लेख गरे ।
यसपछि प्राधिकरण जिम्मेवारीबात तर्किएको आरोप लगाउँदै महानगर हाल पोल व्यवस्थापनमा जुटेको छ । महानगर स्रोत भन्छ, ‘नयाँ पोले राख्ने जिम्मा प्राधिकरणको हो, दायित्वबाट तर्किएपछि हामी नयाँ पोलको व्यवस्था गर्दैछौं ।
यसअघि पुल निर्माण कार्यमा रुखका हाँगा समेत बाधक बनेको थियो । जसलाई महानगरले जिल्ला वन कार्यालयसँग समन्वय गरेर समाधान गरेको थियो । पुल निर्माण पोल बाधक बनेपछि महानगरले बिजुलीको तारलाई अन्डरग्राउन्ड गर्ने बताएको थियो । तरपछि तार अन्डरग्राउन्ड गर्दा लागत खर्च बढी पर्ने हुनाले महानगरले समस्या समाधानको लागि अर्को विकल्प खोजिरहेको थियो ।
वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार पुल निर्माणका लागि पुल भन्दा ठुलो बिजुलीको पोल हाल्ने तयारी भएको जानकारी दिए । ‘हामीले पुलको उचाइ भन्दा अग्लो पोल मगाईसकेका छौं । अब २० दिनभित्र पोल आँउछ होला ।’उनले भने ।
उनका अनुसार पोल समयमा आए मंसिर महिनामा नै पुल निर्माण कार्य सकिने छ । त्यस्तै गतवर्ष पुल निर्माणको शिलान्यास गर्दै पोखराका मेयर मानबहादुर जिसिले सिर्जनाचोकपछि पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा समेत आकाशेपुल निर्माण गरिने बताएका थिए । तर अहिले भने निर्माणधीन आकाशेपुल समेत सम्पन्न हुन सकेको छैन ।
यस्तै निर्माण कम्पनीले हालसम्म महानगरबाट पैसा नपाएको बताएको छ । काम थालेपछि पैसा पाउने बताएपनि महानगरले पैसा नदिएको कम्पनीले जनाएको छ ।