दिपक के श्रेष्ठ
डिएगो अरमान्दो म्याराडोना अर्थात म्याराडोना । अर्जेन्टिनामा जन्मिएर विश्वमै नाम कमाएका फुटबलर, जो बुधबार अस्ताए । मुटुका रोगी म्याराडोनाले ६० वर्षकै उमेरमा संसार छाडे । उनी विश्व फुटबलमा चर्चामा आएको वर्ष हो, सन् १९८६ ।
मेक्सिको सिटीमा आयोजित विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई फाइनलमा २ को विरुद्ध ३ गोलले पराजित गर्दै उपाधि जित्यो । ८६ को विश्वकप त जित्यो तर म्याराडोना भने क्वार्टरफाइनलकै खेलबाट चर्चा पाउन सफल भइसकेका थिए ।
क्वार्टरमा इंग्ल्याण्डविरुद्ध उनले गरेको गोल विश्वले शायदै भुल्ला । उक्त खेल अर्जेन्टिनाले १ को विरुद्ध २ गोल जितेको थियो । म्याराडोनाले गरेको पहिलो गोल विश्व फुटबलमा विवादित तर अर्जेन्टिनाका लागि लाभदायक भयो ।
खेलमा लायन्सम्यानको जिम्मा पाएका अन्तर्राष्ट्रिय रेफ्री बोग्दान डोचेभ, जो लायन्सम्यानमा अब्बल मानिन्थे, उनलाई समेत जिल्याउँदै म्याराडोनाले गोल गरेका थिए ।
इंग्ल्याण्डका गोलकिपर पिटर शिल्टनभन्दा माथि उफ्रिएर उनले सुरुवाती गोल गरेका थिए । जसलाई उनै लायन्सम्यान डोचेभले ‘हेडिङ’ देखे । फलस्वरुप, उक्त हेडिङ गोल भयो । उनै म्याराडोनाले दोस्रो गोल पनि गरे ।
यतिसम्म ठिकै थियो । तर उनै म्याराडोनाले पहिलो गोल हातले गरेको बताउँदै त्यसलाई ‘ह्यान्ड अफ गड’ भनिदिए । त्यही भगवानको हात अब सदाका लागि रहेन । बेलायतको साम्राज्यवादलाई मेक्सिकोमा धुलो चटाएको अर्जेन्टिना ३४ वर्षपछि अहिले आँशुमा डुबेको छ । उनको प्रतिक्रियापछि बुल्गेरियन लायन्सम्यान डोचेभको आलोचना भयो । जसलाई आजउप्रान्त डोचेभ सम्झिरहेका छन् ।
अघिल्लो वर्ष ८० वर्ष पुगेका डोचेभलाई यसबारे बुल्गेरियन मिडियाले प्रश्न गर्दा उनले ‘नो कमेन्ट’ भनेका थिए । मनमनै शायद डोचेभले भने होलान् ‘यदि त्यसबेला अहिलेको जस्तो प्रविधि हुन्थ्यो भने न त्यो गोल हुन्थ्यो न त मेरो बदनामी ।’
ह्यान्ड अफ गडले संसारको बादशाह बेलायतलाई नमिठो चोट दियो । यसको ठिक विपरित अर्जेन्टिनामा खुशीको लहर छायो । अर्जेन्टिनालाई विश्वकप जित्नु भन्दा पनि महत्वपूर्ण थियो, इंग्ल्याण्डलाई हराउनु । अर्जेन्टिना लामो समयसम्म इंग्ल्याण्डको साम्राज्य थियो । र, ४ वर्षअघि मात्रै उनीहरु फकल्याण्डको टापुमा युद्धरत थिए । बेलायतीसँगै फुटबल सिकेर फकल्याण्डको रिस फेर्न उनीहरुले मेक्सिकोमा बेलायतलाई नै हराएका थिए ।
यस प्रसंगमा नेपालको बहादुरी पनि मुछिएको छ । विश्वकप जितेपछि म्याराडोनाले भनेका थिए उनीहरु (बेलायती)को टिममा गोर्खा थिएनन् ।’
म्याराडोनालाई ब्यूनस आयर्र्समा हजारौंले श्रद्धाञ्जली दिए । देशमा ३ दिन शोकसभा हुनेछ । विश्वले अब उनको जादुमय ‘भगवानको हात’लाई केवल अर्काइभमा मात्र देख्न/हेर्न पाउने छन् ।