भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् ।
खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो ।
दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने , “जहिलेसम्म खोप आउदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरु बन्द नै रहन्छन् ।”
कोरोनाविरुद्धको खोप नआउदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनले स्पष्ट पारे ।
भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सवै विद्यालयहरु बन्द नै रहेका छन् । कोरोनाभाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो ।
भारतका कतिपय प्रदेशहरुले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ ।
तुलनात्मक रुपमा कोरोनाभाइरसबाट बढी प्रभावित प्रदेश भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको हो ।
नयाँदिल्लीमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट पाँच लाख ४० हजार ५४१ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६२१ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश भारतमा कोरोनाभाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्येमा पर्दछ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा ९२ लाख २२ हजार २१६ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार ६९९ पुगेको अधिकारीहरुले जनाएका छन् ।