रुखभन्दा होचो भ्यू टावरको वास्तविकता के हो ?

दिपक के श्रेष्ठ

 

अहिले सामाजिक सञ्जालमा चर्चा पाएको यो तस्बिर संखुवासभाको खाँदबारीस्थित चेवामा बनाइएको भ्यू टावरको हो ।

 

तस्बिरमा झट्ट हेर्दा यो टावरको उचाइलाई वरपर रहेका रुखहरुले गिज्याइरहेको जस्तो लाग्छ । हुनपनि यो टावर त्यहाँ रहेका रुखहरु भन्दा होचो छ । अब सबैले अनुमान गर्न सकिन्छ यो टावर चढेर हेर्ने चाहिँ के ?

 

चेवा सामुदायिक वन क्षेत्रभित्र यो टावर निर्माण गरिएको छ । जब तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो तब कमेन्टमा व्यंग्यमिश्रित शब्दहरु भरिएका छन् । कतिपयले ‘आसपासमा भएका रुखहरु हेर्न बनाइएको भ्यू टावर’ भन्दै सरकारको कामलाई उडाएका छन् ।

 

पछिल्लो समय चर्चामा रहेका भीम उपाध्यायले पनि यो फोटो फेसबुक वालमा पोष्ट गर्दै स्टाटसमा ‘संखुवासभाको खादबारीको चेवामा बनेको भ्युटावर । यसबाट वरिपरिका ठूला ठूला रुखहरू देख्न पाईन्छ रे’ भनि उल्लेख गरेका छन् । जसमा थुप्रै कमेन्टहरुले यस्ते भाव बोकेका छन् । कतिपयले सरकारी फजुल खर्चको नमुना भन्दै प्रतिउत्तर दिएका छन् ।

 

यस विषयमा खोजबीन गर्दा ठ्याक्कै त्यस्तै भएको भने पाइएन । त्यस्तै, सरकारले अनावश्यक खर्च गरेको पनि पाइएन । चेवामा निर्माण भएको भ्यू टावरको उचाई ४० फिट छ । वरपर रहेका रुखको उचाई ६० फिट छ । हेर्दा, सुन्दा यो बेतुकको निर्माण नै हो तर टावर निर्माण सुरु गरेसँगै सामुदायिक वनका पदाधिकारीसँग छेउछाउमा रहेका रुख काट्ने कुरा गरिएको र लगभग सहमति भइसकेको छ ।

टावर वरपरका रुख काटेपछि यस टावरबाट अरुण भ्याली, तुम्लिङटार, धनकुटाको पाख्रिबास र भोजपुरसमेत देख्न सकिने संखुवासभास्थित कान्तिपुर संवाददाता दिपेन्द्र शाक्य बताउँछन् । उनका अनुसार यस क्षेत्रमा आन्तरीक पर्यटनको चहलपहल थियो नै टावर खुल्ला भएपछि पर्यटक थप बढ्ने र स्थानीयले प्रत्यक्ष लाभ लिन पाउनेछन् । रुख नकाट्दै तस्बिर भाइरल भएपछि अन्यले त्यस्तो सोच्नु स्वभाविक भएको शाक्यको प्रतिक्रिया छ ।

नेपाल पर्यटन वर्ष – २०२० लाई लक्षित गरी उक्त भ्यू टावर पर्यटन मन्त्रालयकै खर्चमा बनाइएको हो । टावर निर्माणकाे लागत भने खुलिसकेकाे छैन ।

कमेन्टहरु
Loading...