ढुक्क भएर परीक्षा दिन कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको आग्रह

काठमाडौं । वैशाखमा नै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरसको महामारीले रोकिएको थियो र परीक्षा मंसिर ९ अर्थात् भोलिबाट सुरु हुँदै छ । यो परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्दै छ । बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारीहरु समेत पूरा भइसकेको छ । कोरोना भाइरस संक्रमणका कारण परीक्षाका लागि उपस्थित हुन नसकेका विद्यार्थीहरुले पछि समेत परीक्षा दिन सक्ने छन् ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजगणि पोखरेलले विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । उनले भिडियोमार्फत् परीक्षा ढुक्क भएर दिन विद्यार्थीहरुलाई आग्रह गरेका हुन् ।

‘कक्षा १२ विद्यालय शिक्षाको अन्तिम तह भएकाले यसपछि तपाईंहरु कोही उच्च शिक्षा अध्ययनका लागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा जानुहुन्छ भने कोही कामको संसारमा प्रवेश गर्नुहुने छ ।’ उनले भिडियोमा भनेका छन्, ‘त्यसबेला तपाईले प्राप्त गरेका योग्यताको प्रमाणपत्रमाथि कहीं कतै प्रश्न नउठोस् भन्नका लागि यो कोरोना संक्रमणको अवस्थामा पनि नेपाल सरकारले परीक्षा लिने निर्णय गरेको हो ।’

उनले विद्यार्थीलाई परीक्षा केन्द्रमा भौतिक दुरी कायम गरेर बस्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्न तथा साबुन पानीले हात धुने जस्ता कोभिडका सुरक्षा मापदण्ड लागू गरिएकाले परीक्षा ढुक्क भएर दिन आग्रह गरेका छन् ।

उनले विद्यार्थीलाई परीक्षा दिदा वा घरमा हुँदा समेत स्वास्थ्य सुरक्षाका विषयमा ध्यान दिन आग्रह गरे । मन्त्री पोखरेलले परीक्षा केन्द्रमा धेरै भीडभाड नर्गन समेत अभिभावक तथा विद्यार्थीलाई आग्रह गरेका छन् ।

 

कमेन्टहरु
Loading...