गफमै सिमित बन्यो पिएनको ‘विश्वविद्यालय सपना’

ऋषिकान्त पौडेल 

पोखराको पृथ्वीनारायण क्याम्पस, जसलाई राजनीतिक वृत्तमा नेता उत्पादनको विश्वविद्यालय नै मानिन्छ । यसलाई पुष्टि गर्न एउटै कुरा काफी छ, त्यो हो क्याम्पसका एकाध स्ववियु सभापतिबाहेक सबै यो मुलुकको सांसद, मन्त्रीलगायतको उच्च ओहोदामा पुगेका छन् ।

‘खोला त¥यो, लौरो बिस्र्याे’ भने झैं यहाँबाट दीक्षित विद्यार्थीले क्याम्पसको हितमा काम नगरेको देख्न सकिन्छ । नेता उत्पादनको विश्वविद्यालय पिएन क्याम्पसले आफ्ना उत्पादन जति नै शक्ति केन्द्रमा पुगेपनि शैक्षिकरुपमा विश्वविद्यालयमा परिवर्तन भएको पाउन भने सकेको छैन । यसको ठिक विपरित क्याम्पसलाई झनै चुनौति दिन वा अप्ठेरोमा पार्न प्रदेशमा अन्य विश्वविद्यालय र शिक्षालय स्थापना गरिँदैछ ।

प्रजातन्त्र पुनस्थापनापछि पोखरा विश्वविद्यालय खुल्यो, गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना ग¥यो, पोखरा महानगरले गण्डकी बहुप्राविधिक शिक्षालय सुरु ग¥यो । तर सबै भौतिक र शैक्षिक पुर्वाधार भएको पिएनले उपेक्षा मात्रै पाएको छ ।

मुलुककै दोश्रो ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस पोखराले स्थापनाको स्वर्ण जयन्ति मनाएको दश वर्ष भईसक्यो । स्थापनापछिको लामो इतिहास र आवश्यक शैक्षिक एवं भौतिक पूर्वाधारसहित पटक–पटक विश्वविद्यालयमा रुपान्तरणको चर्चा चल्न भने कहिल्यै छोडेन ।

यद्यपि, सम्पूर्ण पुर्वाधारसहितको क्याम्पसलाई छाडेर पछिल्लो समय गण्डकी प्रदेश सरकारले अर्को विश्वविद्यालय स्थापना गरिरहँदा सरकारी ढुकुटीको दुरुपयोग हुनसक्ने आशंकासमेत उब्जिएको छ । हालका संघीय सांसद एवं स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति पदम गिरीले पिएन क्याम्पसलाई प्रदेश सरकारले नै विश्वविद्यालय बनाउन नचाहेको आरोप लगाए ।

‘खर्चका हिसाबले राज्यको ठूलो लगानी गण्डकी विश्वविद्यालयमा हुदँैछ, प्रदेश सरकारले चाहेको भए पिएन नै विश्वविद्यालयमा रुपान्तरण गर्न सक्थ्यो, खोई के मिलेन यत्तिकै ओझेलमा प¥यो’ गिरीले भने । पिएनलाई विश्वविद्यालयमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता भएको उनले जनाए ।

यता, गण्डकी प्रदेशका सांसद एवं स्ववियु पूर्वसभापति राजिव पहारी भने प्रदेश सरकारले चाहेर पनि पिएनलाई विश्वविद्यालयमा रुपान्तरण गर्न नसकेको दाबी गर्छन् । ‘यो पटक पिएनलाई नै प्रदेश विश्वविद्यालय बनाउने पहल गरेको हो तर स्वयं त्रिभुवन विश्वविद्यालय नै सकारात्मक भएन र गण्डकी सरकारले अर्को विश्वविद्यालय स्थापना गर्र्नु प¥यो’ पहारीको स्पष्टोक्ति छ । तरैपनि पिएनलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न भने अत्यावश्यक रहेको उनको तर्क छ । ‘भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार सबैले सम्पन्न छ, घोषणा मात्रै गर्दिए हुन्छ तर सम्बन्धित ठाउँमा पहुँच पुग्न नसकेको चाहिँ सत्य हो’ पहारीले खुलासा गरे ।

विगतमा प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालय समिति गठन गरी डिपिआर समेत तयार भएको थियो । समितिको संयोजकमा शिक्षावीद् जर्ज जोन, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति डा. केशरजंग बराल र सांसद पहारी सदस्य सचिवकारुपमा रहेका थिए । त्यसयता, यो विषयले बेलाबेला चर्चा पाउँछ । क्याम्पसका नेतृत्वकर्ता, स्ववियु सभापतिले आफ्ना एजेण्डाकारुपमा विश्वविद्यालय बनाई छाड्छौं भन्न पनि छाड्दैनन् । र, काम पनि अघि बढाउँदैनन् ।

हालका क्याम्पस प्रमुख डा. सरोज कोईराला पनि पिएनलाई विश्वविद्यालय बनाउने कुरा सेलाई नसकेको बताउँछन् । कोईरालाका अनुसार विश्वविद्यालयमा रुपान्तरण गर्न अब नेपाल सरकारको माथिल्लो निकायमै माग गर्ने तयारी भईरहेको छ । ‘जनस्तरबाटै माग आएको छ तर माथिको नेतृत्वलाई चाहना हुनुप¥यो’ प्रमुख कोइराला भन्छन्, ‘प्रधानमन्त्रीको लेभलमै मागपत्र पेश गर्ने हाम्रो सदीक्षा छ, कोभिडले गर्दा केहि ढिला भएको हो ।’

त्रिभुवन विश्वविद्यालयले पनि किर्तिपुरमा केन्द्रीय क्याम्पस राखेर सातै प्रदेशमा बिस्तार गर्ने योजना बनाईरहेको डा. कोईरालाले जानकारी दिए । स्वतन्त्र ढंगले काम गर्न पाउने भए पनि नाम भने त्रिभुवन विश्वविद्यालय नै रहने पनि उनले जनाए । यदि त्यसो हुन नसके सरकारले छुट्टै ऐनमार्फत भएपनि पिएन विश्वविद्यालय स्थापना गर्नुपर्नेमा उनको जोड रहेको छ ।

हालसालै स्थापित गण्डकी विश्वविद्यालयको स्थानमा पिएन विश्वविद्यालय बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई भेटे पनि क्याम्पसको पूर्व नेतृत्वका कारण बन्न नसकेको जवाफ आफुले पाएको पनि डा. कोईरालाले खुलाए ।

ठिक ६ दशक अघि २०१७ साल भाद्र १७ गते पोखराको नदीपुरबाट पृथ्वीनारायण इन्टर कलेजका नाममा १३ जना आइएस्तरका विद्यार्थी र दुई प्राध्यापकसहित क्याम्पसले आफ्नो शैक्षिक यात्रा शुरु गरेको थियो । क्याम्पसमा हाल करिब १२ हजार बिद्यार्थी अध्ययनरत छन् भने ३२ विभाग अन्तरगत स्नात्तकोत्तरसम्मका पढाई संचालन भइरहेका छन् ।

कमेन्टहरु
Loading...