कास्कीको ढिकुरपोखरीमा कांग्रेसको विशाल चुनावी सभा

कात्र्तिक ९, पोखरा/नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कास्कीले आफ्नो चुनावी आमसभा तथा घरदैलोलाई तिब्रता दिएको छ । कार्यक्रम अन्तर्गत शनिबार कास्कीको ढिकुरपोखरी गाउँ विकास समितिका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गर्नुका साथै चुनावी आमसभा समेत सम्पन्न भएको नेपाली कांग्रेस ढिकुरपोखरी गाविस सभापति मनपति भण्डारीले जानकारी दिए ।चुनावी सभामा कांग्रेस नेताहरुले आउने संविधानसभा चुनावमा कांग्रेसको जित शुनिश्चित भईसकेको दावी गरेका छन् । नेताहरुले कांग्रेसले बनाउने प्रजातान्त्रिक संविधानले मात्रै देशमा सबै नागरिकको अधिकार स्थापीत गर्ने उद्घोष गरे । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले मुलुकमा कानुनी शासन र स्थायी शान्तिका लागी अब जनताले कांग्रेसमा मतदान गर्नुको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कास्कीका उम्मेद्वार महादेव गुरुङले निर्धारित समयमा नै संविधान जारी गर्दै मुलुकको उज्जवल भविष्य निर्माणका लागि आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनुपर्ने बताए । नेता गुरुङले शान्ति, स्थायीत्व र प्रजातन्त्र विना मुलुकको संवृद्धि संम्भब छैन, त्यसैले प्रजातान्त्रिक संविधान निर्माण गर्न कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।

त्यसै गरि कास्कीको पुरुञ्चौरमा चुनाव प्रचार प्रसार अभियान अन्तर्गत नेपाली कांग्रेसको युवा भेलासम्पन्न गरेको छ । युवाहरुलाई नेपाली कांग्रेसका युवा नेता वेदहरी तिमिल्सीनाले कांग्रेस र संविधान निर्माणका पक्षमा प्रशिक्षण दिनुभएको थियो । साथै सोही भेलाले दुर्गादत्त बाँस्तोलाको संयोजकत्वमा १ सय ५१ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।

कमेन्टहरु
Loading...