पोखराको पर्यटन प्रवद्र्धन गर्न नयाँ खेल आयोजना हुने

पोखरा, १२ साउन / पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थपिने भएको छ । पोखरा उद्योग वाणिज्य संघले मित्रराष्ट्र चीनको कुन्मिन नगरको सहयोगमा पोखरामा ‘फस्र्ट हिमालयन माउण्टेन क्रस कन्ट्री च्यालेञ्ज’ आयोजना गर्ने भएपछि यो अवस्था आएको हो । पोखरा उद्योग वाणिज्य संघको यो अभियानलाई पश्चिमाञ्चल होटल संघले पनि सघाएको छ ।

४२ किलोमिटरको दूरीा दौड, साइक्लिङ र पौडी समावेश हुने यो प्रतियोगिता पोखराको लेकसाइडबाट सुरु भई मट्टिखान कुभिण्डे, फुस्रेखोला, डेभिसफल हुँदै लेकसाइडमा नै आएर अन्त्य हुनेछ । यो दौडमा एउटा समूहमा ३ जना सहभागि हुनेछन् भने एकजना महिला अनिवार्य गरिएको छ । ३ जनाको समूहमा दुई जना महिला र एक जना पुरुष पनि हुन सक्ने छन् । कुन्मिन माउन्टरियरिङ एसोसियनका विज्ञहरुले लामो स्थलगत अध्ययनपछि दौडको लागि यो क्षेत्र चयन गरेका हुन् ।

चालु अंग्रेजी वर्षको सेप्टेम्बरमा आयोजना हुने यो प्रंतियोगिताको नारा नै ‘रन फर लभ’ राखिएको छ । प्रतियोगितामा करिव ३ सय जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा चीनको कुन्मिनबाट मात्रै करिब ४० खेलाडी सहभागी हुनेछन् भने कुन्मिनसँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० ठाउँबाट पनि खेलाडीहरु आउनेछन् ।

‘पोखराको पर्यटन प्रवद्र्धन गर्नको लागि हामीले थालेको यो सानो प्रयास हो’,शनिबार प्रतियोगिता संचालनको सम्झौताप हस्ताक्षर कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भन्नुभयो,‘पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगिता कोषेढुंगा सावित हुनेछ ।’

उहाँका अनुसार प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपले प्रवद्र्धन गरिनेछ । चिनिया मिडियाबाट हुने प्रवद्र्धनले पनि यहाँको पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उहाँको दावी थियो ।  कार्यक्रममा बोल्दै कुन्मिन माउण्टेरिङ एसोसियसनका अध्यक्ष झाङ सिले यो प्रंतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने धारणा राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । संघका महासचिव दामु अधिकारीले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायिकरणमा पा्ेखरा उद्योग वाणिज्य संंघले खेलको भूमिकाको स्मरण गर्दै पर्यटनको विकासमा संघ निरन्तर क्रियाशिल भएको बताउनुभयो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रले खेलेको भूमिकालाई राज्यस्तरबाट पनि मूल्याङ्कन हुनु पर्ने बताउनृभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समग्र पोखराको विकासको लागि हुने गतिविधीमा संचार क्षेत्रले सदैव सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...