रोनाल्डोको २ गोलमा युभेन्टसको कीर्तिमानी जित

काठमाडौं, पुस १४
साबिक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कीर्तिमानी जित निकालेको छ । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्टसले पाहुना टोली साम्पडोरियामाथि २–१ को जित निकालेको हो । यो सिरी ‘ए’ को इतिहासमै युभेन्टसको कीर्तिमानी जित पनि हो ।

शनिबार युभेन्टसको घर टुरिनमा भएको खेलमा युभेन्टसको जितमा ३३ वर्षीय रोनाल्डो नायक बने । उनले १ गोल आकर्षक सर्टमा गरे भने अर्को गोल पेनाल्टीबाट गरे ।

आजको खेलमा युभेन्टसलाई ‘भिआरले साथ’ दियो । २–१ ले जितको नजिक पुगेका बेला ९० मिनेटपछि थपिएको समयमा साम्पडोरियाले बराबरी गोल फर्काएको थियो । तर, रेफ्रीले भिआरको सहयोगबाट सो गोल अफसाइड अवस्थामा भएको भन्दै रद्द गरेपछि युभेन्टसको जित पक्का भएको हो ।

आफ्नो घरेलु मैदानमा रोनाल्डोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । उनले पाउलो डिबालाको पासमा डि एरियाको लाइनबाटै कडा सर्टमा आकर्षक गोल गरेका थिए ।

तर, खेलको ३३औं मिनेटमा साम्पडोरियका लागि फाबियो क्वाग्लिएरिल्लाले पेनाल्टीबाट गोल गरेर खेललाई पहिलो हाफमा १–१ मा ल्याए । युभेन्टसका खेलाडी इम्री क्यानले ह्यान्ड बल गरेपछि रेफ्रीले साम्पडोरियालाई पेनाल्टी मौका दिएका थिए ।

दोस्रो हाफमा युभेन्टसले खेलको ६५औं मिनेटमा पेनाल्टी पायो । युभेन्टसका खेलाडीले डि एरियामा बल रोक्नेक्रममा हात प्रयोग गरेको आरोपमा रेफ्रीले युभेन्टसलाई पेनाल्टीको मौका दिएका थिए ।

जसमा रोनाल्डोले कडा प्रहार गर्दै बललाई जाली चुमाउँदै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । त्यसपछि निकै आक्रामक बनेको खेलमा ९० मिनेटसम्म कुनै गोल भएन । तर, थपिएको समयमा साम्पडोरियाका रिकार्डो सापनोराले माथिल्लो कुनाबाट आकर्षक गोल गरेर खेल २–२ बनाए ।

रिकार्डोले गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसनसमेत गरिसकेका थिए । तर, पछि रेफ्रीले भिआरको प्रयोग गरेर सो गोल अफसाइड रहेको भन्दै रद्द गरेपछि युभेन्टसले जितको नतिजा पायो ।

यो जितसँगै युभेन्टसले आधा सिजन सकिँदा सिरी ‘ए’ इतिहासमै १९ खेलबाट सर्वाधिक धेरै ५३ अंक जोडेको छ । यो कीर्तिमान अंक हो । उसले कूल ५७ अंकमा ५३ अंक जोड्दा आधा सिजन सकिँदा मात्रै ४ अंक गुमायो । आधा सिजन सकिँदा पनि युभेन्टस लिगमा अपराजित छ ।

यस खेलमा रोनाल्डोले २ गोल गरेसँगै उनले आधा सिजन सकिँदा सिरी ‘ए’मा कूल १४ गोल पूरा गरेका छन् ।

यो जितपछि युभेन्टसले लिगमा १९ खेलबाट कूल ५३ अंक बनाएको छ । युभेन्टस अब (नापोलीले आफ्नो १९औं खेल नखेल्दासम्म) १२ अंकले अघि रहेको छ ।

कमेन्टहरु
Loading...