नेकपाले सचिवालयलाई शक्तिशाली बनायो, अध्यक्षलाई सात अधिकार

काठमाडौं, ७ साउन/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालाई सबैभन्दा शक्तिशाली बनाएको छ । पार्टी विधानले स्थायी समितिलाई भन्दा सचिवालयलाई बढी अधिकार दिएको हो । सचिवालयलाई केन्द्रीय कार्यालय सञ्चालन गर्ने, केन्द्रीयस्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने अधिकार दिएको छ ।

यस्तै केन्द्रीय विभाग, मातहत कमिटी, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी नेकपाको अन्तरिम विधान मूल्यांकन प्रतिवेदन तयार गर्ने र केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी कमिटीमा प्रस्तुत गर्ने अधिकार पनि सचिवालयलाई छ ।सचिवालयालई केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकबीचको अवधिमा राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय गर्ने, आफूले गरेका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा प्रस्तुत गर्ने, समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने अधिकार पनि छ ।

केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका निर्णयअनुरूप अन्तरपार्टी निर्देशन जारी गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीप्रति उत्तरदायी रहने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू गर्ने अधिकार पनि सचिवालयलाई नै छ ।नेकपाको पार्टी विधानले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सात अधिकारको व्यवस्था गरेको छ ।

अध्यक्षका अधिकार र कर्तव्य :
• राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको अध्यक्षता गर्ने
• पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने
• केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा आफ्नो तर्पmबाट, एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय
कमिटीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
• महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने
• पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान कार्यान्वयन गर्ने, गराउने
• केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने
• दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने । पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने ।

कमेन्टहरु
Loading...