नेकपा उम्मेदवारको प्रतिवद्धता १ वर्षमै सबै भूमिहीनलाई जग्गा

पोखरा, ५ मंसिर/ पोखराको पृथ्वीचोक बसपार्कमा झर्ने बित्तिकै देखिन्छ भूमिहीनको वस्ती । पोखराका विभिन्न भागमा भूमिहीनहरु यसरी घर, टहरा बनाएका बस्दै आएका छन् । उनीहरुका अनेक समस्या छन् । देशभरकै भूमिहीनका समस्या समाधान गरी सबै नेपालीलाई भूमि दिने उद्देश्यले हालै सरकारले कानुन निर्माण गरेको छ ।

उपचुनावका लागि घरदैलोमा पुगेका उम्मेदवारलाई यसरी बसेका भूमिहीनले चाडै समस्या समाधान गर्न माग गरिरहेका छन । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले देश सबैको साझा भएकाले कोही नेपाली भूमिहीन हुन नहुने बताएकी छन् । उनले अबको १ वर्षभित्र सबै सुकुम्बासीले जग्गा पाउने उल्लेख गरिन् । भट्टराईले भनिन, ‘सरकारले यसका लागि कानुन बनाइसकेको छ । अबको १ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन ।’

मंसिर १४ गते निर्वाचन हुने विभिन्न वडाका भूमिहीनलाई उनले नेकपा सरकारले सुकम्बासीका समस्या सधैंका लागि समाधान गर्ने आश्वासन दिइन् । सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या नसुल्झिएसम्म समृद्ध नेपालको कल्पना गर्न नसकिने उनको भनाइ छ ।

मुलुकको कुनै पनि स्थानमा आफ्नो नाममा जग्गा नभएका एवं १० वर्षदेखि निरन्तर बसोबास गरी आएका नागरिकलाई जग्गाधनी बनाउने पार्टी र सरकारको अभियान चाडै पूरा हुने उनले बताइन् । तत्कालीन एमाले नेतृत्वको ९ महिने सरकारका अवधिमा प्रदान गरिएको ‘सेतो’ लालपुर्जा चाडै रातोमा परिणत गरिने विश्वास दिलाइन् ।

उनले भनिन्, ‘यसले मुलुका २ दर्जाका नागरिक भएको अवस्था पनि अन्त्य हुन्छ । आफू सुकुम्बासी आयोगको अध्यक्ष हुँदा काम नगरी अहिले आश्वासन बाड्नेका कुरा तपाईहरु कसरी पत्याउनुहुन्छ ? हामी आश्वासन होइन, काम नै गर्छाैं ।’

कास्की २ मा पर्ने पोखराका वडा नं. ४, ७, ८, ९, ११, १५,१६, १७, २०, २१ र ३३ गरी ११ वटा वडामा नै धेरे थोरै सुकुम्बासी बस्ती रहेको नेकपा कास्की सदस्य ओम पौडेलले जानकारी दिए । पोखरामा मात्र ३ हजार ५ सयभन्दा बढी सुकुम्वासी परिवार बसोबास गर्दै आएको उनको भनाइ छ ।

कमेन्टहरु
Loading...