मतदाता परिचयपत्र छपाइ थालियो

काठमाडौं,  २१चैत/निर्वाचन आयोगले मतदाता परिचयपत्रको छपाइ सुरु गरेको छ । सोमबार​​ साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले छपाइको सुरुआत गरेका हुन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली टुंगो लगाएर नामावली पनि छाप्न सुरु गरिएको जनाइएको छ ।निर्वाचन आयोगको कार्यालय कान्तिपथ परिसरमै परिचयपत्र छपाइको काम सुरु भ​एको आयोगले जनाएको छ । २० दिनभित्र मतदाता परिचयपत्र छाप्ने काम सकिने आयोगले बताएको छ ।

आयोगका अनुसार नयाँ परिचयपत्र यसअघिको परिचयपत्र भन्दा गुणस्तरीय हुनेछ । रंगीन परिचयपत्रमा फोटो सहितको व्यक्तिगत विवरण र मतदान स्थल उल्लेख हुनेछ । आयोगले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नाम स्वीकृत गरेको छ ।कुल मतदातामा पुरुष ७० लाख ६९ हजार ७ सय १४ र महिला ६९ लाख ८४ हजार ६ सय २५ रहेका छन् भने तेस्रो लिंगी मतदाताको संख्या १ सय ४३ रहेको छ ।०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मत दिन पाउने छन् ।

आयोगको तथ्यांक अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छन् । मोरङमा ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन् भने सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ मात्रै छन् । मतदान केन्द्र पुनःनिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिन भित्रै सार्वजनिक गरिने आयोगले जनाएको छ । आयोगको कार्यतालिका अनुसार मतदाता नामावली र मतदाता परिचय पत्र छपाइ गरी २०७४ वैशाख १० गते भित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्नु पर्नेछ ।

कमेन्टहरु
Loading...