काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा बिहान सातबजेदेखि मतदान सुरु भएको छ । राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान कार्य हुँदैछ। ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान मार्फत् विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। तर केही स्थानमा भने अझै मतदान सुरु हुन नसकेको बताइएको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। पहिलो चरणको निर्वाचनमा दुवै तर्फ गरी ७०२ उम्मेदवार मैदानमा थिए। निर्वाचनमा महिला उम्मेदवारहरु निकै कम मात्रै छन्। दोस्रो चरणको निर्वाचनमा बहाल वाला प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्री र हेवी वेटहरु मैदानमा भएकाले पनि सबैको चासोको विषय बन्न पुगेको छ।
दोस्रो चरण अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुन लागेको हो।बिहीबार विहानैदेखि सुरु हुने मतदानको लागि सुरक्षा व्यवस्था सहित सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाको तीन वटा छुटा छुटै सुरक्षा घेराले मतदान स्थलमा मतदाता र उम्मेदवारको सुरक्षा प्रदान गर्ने छन्।