माघमा पोखरामा दोस्रो सभामुख महिला भलिबल प्रतियोगिता, गण्डकी प्रदेशको टिम छनोट

पोखरा, २४ पुस / पोखरामा माघ १ गते देखी दोस्रो सभामुख महिला राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुने भएको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजना हुने प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले तदारुकता देखाएको छ ।

समितिले गण्डकी प्रदेशको टिम छनोट गरिसकेको छ । मन्जु गुरुङको कप्तानीमा १२ सदस्यीय टोली चयन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । दुई जना खेलाडी बैकल्पिकमा छन् ।

अरुणा शाही(म्याग्दी), रेविना घर्तीमगर(म्याग्दी), पवित्रा वि.सी(म्याग्दी), रुपा थापा(कास्की), लक्ष्मी कुँवर(तनहुँ), पूर्णिमा ठाकुर(कास्की), ममता डगौरा(कास्की), जयन्ती गुरुङ(कास्की), लुकु श्रीस(बाग्लुङ), कोपिला थापामगर(नवलपुर) र अंसु थापा(कास्की) रहेका छन् । सगुन गुरुङ(लम्जुङ) र सरस्वती सुनार (कास्की) बैकल्पिक खेलाडीको रुपमा चयन गरिएको छ । भलिबल प्रशिक्षक कौशिला खत्री, पश्चिमञ्चल क्षेत्रीय भलिबल संघका उपाध्यक्ष राजकुमार गुरुङ, सिनियर राष्ट्रिय भलिबल रेफ्री राजन पौडेल तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीको रोहबरमा खेलाडी चयन गरिएको हो ।

सहभागि टिम पुस ३० गते पोखरा आईपुग्ने छन् । खेल तालिका भने सार्वजनिक गरिसकिएको छैन् । खेलाडीलाई दैनिक ६ सय रुपैयाँ यातायात भत्ता उपलब्ध गराईने प्रतियोगिता संयोजक समेत रहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले जनाए । खेलाडी भत्ता भने १ हजार तोकिएको छ । प्रतियोगिताको तयारीको लागि भलिबलको सेन्टर कोर्टमा प्याट विछ्याईसकिएको छ । प्रतियोगितामा १२ खेलाडीसहित प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक रहने व्यवस्था छ ।

तीन विभागीय तथा सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । खेल लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराएको बजेटबाटै प्रतियोगिता सम्पन्न गर्नुपर्ने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

कमेन्टहरु
Loading...