प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरण निर्वाचन अन्र्तगतको ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। अधिकांश शीर्ष नेता र उम्मेद्वारहरूले आज पहिलो मतदान गर्दैछन्।
माओवादी केन्द्रका अध्यक्ष एवम् बाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ उम्मेद्वार पुष्पकमल दाहालले मतदान गरिसकेका छन्।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन बिहीबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन्।
तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौलीस्थित सत्यबती केन्द्रबाट भोट हालेका हुन । उनले सत्यबती केन्द्रबाट सबै भन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन्।
पौडेलले मतदान पश्चात संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्र सस्थागत गर्न शान्ती, स्थिरता र समृद्धिका लागि यो निर्वाचन ऐतिहासक भएको प्रतिक्रिया दिए।
नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन्।
विराटनगरस्थित आदर्श मावी मतदान केन्द्रबाट उनले बिहान ७ बजे मतदान गरेका हुन्।
पूर्वसभामुख एवम् इलाम क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका संयुक्त उम्मेदवार सुवास नेम्वाङले भर्खरै मतदान गरेका छन्।
उनले इलाम सदरमुकामको बालमन्दिर केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्।
गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् एमाले नेता प्रदीप ज्ञवालीले मतदान गरेका छन्।
बम्घा निमावि मतदान केन्द्रबाट उनले बिहान ७:१० बजे मतदान गरेका हुन्।
बिनाबिभागिय मन्त्री एवं महोत्तरी १ का उम्मेदवार गिरिराजमणि पोखरेलले बर्दिवासस्थित दुधेश्वर प्रा.बि.मा मतदान गरेका छन्।
यस्तै विवेकशील साझा पार्टीका प्रमुख रविन्द्र मिश्रले ललितपुरको भैसीपाटीबाट मतदान गरेका छन्।
झापा क्षेत्र नं. ४ बाट बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार एलपी सावाँ लिम्बूले मतदान गरेका छन् । उनले झापाको सतासी आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।
काठमाडौं महाराजगन्जस्थित पुलिस एकेडेमी अगाडिको मतदान केन्द्रबाट विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले मतदान गरेकी छन्।

यस्तै माओवादी केन्द्रकी प्रवक्ता एवम् ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेद्वार बनेको पम्फा भुसालले मतदान गरेकी छन्। उनले ललितपुरको कुपण्डोलस्थित राजतिर्थ मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेकी हुन्।
नेकपा (एमाले) का उपाध्यक्ष एवम् अछामबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावलले साँफेबगर नगरपालिका–६, रिठागाउँस्थित चन्द्रोदय आधारभुत विद्यालयबाट मतदान गरेका छन् ।